आर्थिक

एक करोड बक्यौता रकम असुल गर्न बाँकी

money

सप्तरी । खानेपानी संस्थान राजविराजले २०७४ पुस मसान्तसम्म रु एक करोडभन्दा बढी बक्यौता रकम असुल गर्न बाँकी रहेको जनाएको छ ।

ग्राहकबाट रकम असुली नहुँदा कार्यालयको राजश्व संकलन प्रभावित भएको छ भने नयाँ ग्राहक थप्न समस्या भइरहेको छ । कार्यालयका अनुसार विभिन्न संघसंस्था, विद्यालय र सरकारी कार्यालयलबाट रु एक करोड ११ लाख ६० हजार बक्यौता रकम असुल्न बाँकी रहेको छ ।

पूर्व सचिव विन्देश्वरप्रसाद सिंहबाट रु एक लाख १२ हजार, जिल्ला साझा संघबाट रु एक लाख ३१ हजार, केशो अनिरुद्धवती माध्यमिक विद्यालयको रु १ लाख २९ हजार, पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको रु एक लाख २९ हजारलगायत अन्यबाट पानीको महसुल असुल गर्न बाँकी रहेको खानेपानी संस्थान राजविराजले जनाएको छ ।

बक्यौता रकम बुझाउन कार्यालयले पटक पटक ताकेता गर्दा पनि बुझाउन नमानेका कतिपय ग्राहकको खानेपानीको धाराको लाइन काटिने कार्य शुरु गरेको संस्थानका लेखा अधिकृत अजय बरियैत यादवले बताए । विसं २०५६ देखि संस्थानले वितरण गर्दै आएको खानेपानी धारा हाल राजविराज नगरपालिकाको दुई हजार ४७९ को घरमा जडान गरिएको छ ।