अन्तर्राष्ट्रिय

उत्तर कोरियाका लागि अमेरिकी विशेषदूत जापान र दक्षिण कोरिया जाने

वासिङटन । उत्तर कोरियाका लागि अमेरिकी विशेष दूतले जापान र दक्षिण कोरियाको भ्रमण गर्ने भएको समाचार छ ।

अमेरिकी विदेश मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । विशेष दूत जोसेफ युनले आगामी फेब्रुअरी १ देखि ६ सम्म सो भ्रमण गर्न लागेको बताएको छ ।

युन अमेरिकाको उत्तर कोरिया नीतिसम्बन्धि विशेष प्रतिनिधि र दक्षिण कोरिया र जापानको लागि उपसहायक मन्त्रीका रुपमा रहेका छन् ।

यस भ्रमणको क्रममा टोकियो र सोलस्थित उच्चस्तरीय अधिकारीसँग भेटघाट गर्ने र उत्तर कोरियासँगको द्विपक्षीय मुद्दाको बिषयमा छलफल हुने जारी विज्ञप्तिमा जनाइएको छ ।

टोकियोमा युनले एक सम्मेलनमा समेत सहभागीता जनाउने भएका छन्। उत्तर कोरियाले दक्षिण कोरियामा यसैवर्ष हुने शीतकालीन ओलम्पिकमा सहभागीता जनाउने भएपछि दुई कोरियालीबीच पछिल्लो समयमा सम्बन्धमा केही सधार आएको पाइएको छ ।