पु.समाचार

सिरहाका ७० भन्दा बढी स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण

लहान । जिल्ला जनस्वास्थ्य कार्यालयले मातहतमा रहेका ७० वटा भन्दा बढी स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

नयाँ व्यवस्थाअनुसार स्वास्थ्य संस्थालाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरिएको कार्यालयका प्रमुख डा चुमनलाल दासले जानकारी दिए ।

जिल्लाको मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिकासहित विष्णुपुर गाउँपालिका, औरही गाउँपालिका, भगवानपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नवराजपुर गाउँपालिका र अर्नमा गाउँपालिका क्षेत्रभित्र पर्ने स्वास्थ्य संस्थालाई सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको उनले बताए ।

हस्तान्तरण गर्न बाँकी रहेका सुखीपुर नगरपालिका, लहान नगरपालिका, धनगढीमाई नगरपालिका, सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका, नरहा गाउँपालिका र सखुवानन्कारकट्टी गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था पनि केही दिनभित्रै हस्तान्तरण गरिसक्ने प्रमुख डा दासको भनाइ छ ।

सिरहामा दुई वटा सरकारी अस्पतालसहित १०४ हेल्थपोष्ट, तीन वटा शहरी क्लिनिक र एउटा सामुदायिक स्वास्थ्य एकाइ रहेको उक्त कार्यालयले जनाएको छ ।