समाचार

रातोढुंगामा सामुदायिक भवन निर्माण

बाबियाचौर, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगामा स्थानीयवासीले सरकारी निकायको सहयोगबिनै लाखौँको लगानीमा सामुदायिक भवन निर्माण गरेका छन् ।

भेला, बैठक, छलफल, तालीम, विवाह, छेवार, किरियाजस्ता कार्यक्रम गर्न समस्या भएपछि सरकारी निकायको सहयोगबिनै थकाली सेवा समाज दरवाङ क्षेत्रले रु २७ लाखभन्दा बढी खर्च गरेर भवन निर्माण गरेका हुन् ।

थकाली समाजले भवन निर्माण गरेपनि अन्य समुदायको दुःख, सुख र सामाजिक काममा भवनको प्रयोग गरिने समाजका अध्यक्ष खड्गबहादुर भट्टचनले बताए । सभाहलसहितको दुईतले भवनको सोमबार थकाली सेवा समाजका केन्द्रीय अध्यक्ष कृष्णकुमारी शेरचनले उद्घाटन गरे ।

भवन निर्माणका लागि देश विदेशमा रहेका थकाली समुदायबाट रु २९ लाख ९७ हजार ६२५ सहयोग जुटाइएको थियो । रु २७ लाख १८ हजार ९९७ को लागतमा भवन निर्माण भएको कोषाध्यक्ष बलबहादुर भट्टचनले जानकारी दिए ।

मंगला गाउँपालिका–५ का लिला र पदम तुलाचनले दिवंगत अभिभावक भक्तबहादुर र हीरा शेरचनको स्मृतिमा रु तीन लाख र विदेशमा रहेका थकाली समुदायले रु आठ लाख ६८ हजार ७४५ सहयोग गरेका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र ६ नम्बर वडाका अध्यक्ष सन्तोष सुवेदीले सरकारी निकायको सहयोगबिनै भवन निर्माण गरेर दरवाङ क्षेत्रका थकाली समुदायले नमुनायोग्य काम गरेकोमा प्रशंसा गरे ।