शिक्षा

विद्यालयको भवन जीर्ण हुँदा समस्या

रामपुर, पाल्पा । कालिका आधारभूत माध्यमिक विद्यालय रामपुर नगरपालिका–४ देवीस्थान पाल्पाको भवन जीर्ण हुँदा पठनपाठनमा समस्या परेको छ ।

विसं २०४४ मा निर्मित यस विद्यालयको पुरानो भवनमा बसेर पठनपाठन गर्न शिक्षक र विद्यार्थीलाई समस्या पर्दै गएको छ । पुरानो भवनलाई २०७२ को विनाशकारी भूकम्पले असर पु¥याएपछि पठनपाठनमा समस्या परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडाले बताए।

कक्षाकोठा अभावमा जीर्ण भवनमा विद्यार्थीलाई राखेर पढाउन बाध्य रहेको ठाडाले बताए ।

कक्षा नर्सरीदेखि कक्षा ८ सम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा हाल १५० जना विद्यार्थी रहेका छन् । पुरानो जीर्ण भूकम्पले चर्काएको भवनभित्र बसेर शिक्षण गर्न समस्या परेको शिक्षक रामबहादुर राना बताउछन् ।

“पानी परेका बेला कक्षाकोठामा विद्यार्थीलाई पढाउन निकै समस्या छ, टिनको छानो भएकाले पानी आउँदा चुहिएर पठनपाठन प्रभावित हुँदै आएको छ” उनले भने । १७ वटा कक्षाकोठा रहेको विद्यालयमा हाल आठवटा कक्षाकोठा जीर्ण अवस्थामा छन् ।