राजनीति

यसो भन्छन् सहित दिबशमा राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष ओली

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय र समानतामा आधारित आर्थिक रुपले समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर हुनुपर्ने बताएका छन् ।

‘शहीद दिवस २०७४’का अवसरमा राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा मुलुक र मुलुकवासीका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने व्यक्ति नै शहीद बन्न योग्य हुने यथार्थलाई हामीले सधैँ ख्याल गर्नुपर्ने बताउँदै भनेकी छन्, “सबैलाई राष्ट्र निर्माणको महायज्ञमा स्वतःस्फूर्तरूपले समाहित हुन प्रेरणा प्रदान गर्ने ज्ञातअज्ञात शहीदको सपना साकार पार्नका लागि कृतसंकल्पित बन्न अभिप्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

‘उपलब्धि संस्थागत गर्दै समुन्नत राष्ट्र निर्माण गर्न सकेमा शहीदप्रति सच्चा सम्मान’

राष्ट्रपति भण्डारीले इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको योगदानको प्रतिफलस्वरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको बताउँदै वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत र सुदृढ गर्दै समुन्नत राष्ट्र निर्माण गर्न सकेमा मात्र शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने उल्लेख गरेकी छन् ।

समृद्ध राष्ट्रको सपना साकार पार्न उपराष्ट्रपतिबाट आग्रह
नन्दबहादुर पुनले देशलाई दिगो आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्नका लागि एक भएर लाग्न सबैलाई आग्रह गरेका छन् ।
सबैखाले आन्दोलनमा नेपाली वीर सपुतको बलिदानी रहेको स्पष्ट पार्दै उपराष्ट्रपति पुनले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको बलिदान दिने शहीदको योगदानको उच्च मूल्यांकन गर्दै शहीद परिवारजनमा उच्च सम्मान अर्पण गरेका छन् । उपराष्ट्रपतिले पछिल्लो चरणमा भएका निर्वाचन र त्यसपछि मुलुक राजनीतिक स्थिरतातर्फ अगाडि बढेसँगै शहीदका सपना पूरा हुँदै गएको स्पष्ट पारेका छन् ।

मेलमिलाप, र एकताको बाटोबाट अगाडि बढ्दा आर्थिक समृद्धिको लक्ष्यमा पुग्न सकिन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद दिवसका अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा शहादत प्राप्त गर्ने सम्पूर्ण वीर शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्रप्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशका लागि आहुति दिने चार महान् शहीद तथा प्रजातन्त्र पुनःस्थापना एवं लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि शहादत प्राप्त गर्ने सम्पूर्ण वीर सपूत सबैका पथप्रदर्शक र आदर्श व्यक्तित्व भएको उल्लेख गरेका छन् ।

“शहीदले कल्पना गरेको राजनीतिक पद्धतिको स्थापना गर्न हामी सफल हुन सकेका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई संविधानले कल्पना गरेको तीन वटै तहको निर्वाचन सम्पन्न भइसकेको छ । वर्तमान सरकारले राष्ट्रले सुम्पेका जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरी संविधानको पूर्णरुपमा कार्यान्वयन भएको छ र यससँगै देश नयाँ सरकारप्राप्तिको अन्तिम चरणमा पुगेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले अब शहीदको बलिदानी र त्यागको फलस्वरुप प्राप्त लोकतन्त्रका जगमा देशको आर्थिक विकास र समृद्धिका लागि अगाडि बढ्नु अपरिहार्य रहेको बताउँदै यसमा सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

कुनै पनि इष्र्या, वैरभाव र प्रतिशोधको भावनालाई त्यागेर मेलमिलाप, सहकार्य र एकताको बाटोबाट अगाडि बढ्दा मात्र आर्थिक समृद्धिको लक्ष्यमा पुग्न सकिने विश्वास व्यक्त गर्दै उनले त्यसो गरेमा मात्र शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका छन् ।

शहीद दिवशमा अध्यक्ष ओली भन्छन्

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध राष्ट्र निर्माणको महाभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान गरेका छन् ।

शहीद दिवशका अवसरमा आज एक वक्तव्य जारी गर्दै उनले लोकतान्त्रिक आन्दोलनका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

शहीदको बलिदानीबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, संविधानसभाले संविधान जारी गरेर नेपालीलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिक, सामाजिक, न्यायिक अधिकार प्राप्तिका लागि शहीदले गरेको बलिदानीको स्मरण गरेका छन् । ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य प्राप्त गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने कुरा पनि व्यक्त गरेका छन् ।

सन्देशमा उनले वाम गठबन्धनलाई जनताले नयाँ युगको जिम्मेवारी दिएको बताउँदै भनेका छन्, “वाम गठबन्धनप्रति जनताको यस विश्वासप्रति हामी आभार प्रकट गर्न चाहन्छौँ र यहाँहरुको विश्वासको उच्च सम्मान र कार्यान्वयन हुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँं ।”

अध्यक्ष ओलीले राजनीतिक स्थायित्व, सामाजिक न्याय र समानता, राष्ट्रिय स्वाधीनता तथा स्वाभिमान, सामाजिक सद्भाव एवं समृद्धि जस्ता जनताका चाहनालाई सम्बोधन गर्न आज एमाले र नेकपा (माओवादी केन्द्र) गठबन्धनमा आबद्ध भएको पनि बताएका छन् ।

शहीद घोषणा गरिएकामा स्वागत
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले यसै अवसरमा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन बलिदान गर्ने चार तथा अन्य ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

अध्यक्ष राणाले आज विज्ञप्ति जारी गरी देशमा सशस्त्र युद्धका क्रममा ज्यान गुमाएका आफ्ना पार्टीका तथा अन्य दलका कार्यकर्ता एवं सर्वसाधारणलाई सरकारले हालै शहीद घोषणा गरेकामा स्वागत गरेका छन् ।