पु.समाचार

सीमाविद् श्रेष्ठ भए सम्मानित

काठमाडौँ । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको सार्वभौमसत्तालाई अक्षुण राख्न सरकारको सदैव ध्यान जानुपर्ने बताएका छन् ।

‘नेपाल–भारतबीच विवादित सीमा क्षेत्रको सुरक्षा’ विषयक आज यहाँ आयोजित अन्तक्र्रियामा उनले हाम्रा पूर्वजले हामीलाई सुम्पेर गएको सीमालाई बचाउन सरकार तथा सर्वसाधारण जनता सचेत हुनुपर्ने औँल्याए ।

सीमाविद् श्रेष्ठले नेपालको सीमा निरन्तर भारतीय पक्षबाट मिच्दै गएको र सरकार तथा स्थानीय प्रशासन मौन बसेकामा दुःख प्रकट गरे ।

उनले दुई मुलुकबीचको सीमा सुरक्षा गर्न यी सीमा खुल्ला हुन नहुने बताउँदै नेपाल–भारतबीचको सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने सुझाव दिए ।

राष्ट्रिय बेरोजगार युवा संरक्षण मञ्चका अध्यक्ष माधव भण्डारीले भारतबाट पटक पटक सीमा मिच्दा पनि सरकारबाट कुनै पहल नगरिएको भन्दै नेपालको सुरक्षाका लागि सीमा सुरक्षा समूह गठन गर्नुपर्ने आवश्यकता औँल्याए ।

सीमा रक्षक राजेश कोइरीले आफूले सीमा रक्षा गर्न स्थानीय बासिन्दालाई लामो समयदेखि जनचेतना बढाउने काम गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय बेरोजगार युवा संरक्षण मञ्चले सीमाविद् बुद्धिनारायण श्रेष्ठ तथा सीमा रक्षक राजेश कोइरीलाई नेपालको सीमा सुरक्षामा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको भन्दै सम्मान गरेको थियो ।