पर्यटन/संस्कृति

उद्यौली पर्वका अवसरमा किराँत महोत्सव शुरु

भद्रपुर । किराँत संस्कृतिको संरक्षण तथा सामाजिक एकताको सन्देश लिएर हरेक वर्षको उद्यौली पर्वका अवसरमा लगाइँदै आएको ११औँ किराँत महोत्सव भद्रपुरमा शुरु भएको छ ।

निर्माणाधीन किराँत सामुदायिक भवन निर्माण पूरा गराउन सहयोगार्थ हरेक वर्ष चल्दै आएको सो महोत्सव एक महिनासम्म चल्ने आयोजक किराँत कल्याण समितिले जानकारी दिएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकारहरुले मनोरञ्जन दिने, विभिन्न किराँत सांस्कृतिक झलक प्रस्तुति दिने स्टल तथा खानाका परिकारसहित ११ स्टल रहेका छन् ।

मेला संयोजन समितिका संयोजक जीवन सुब्बाले दिएको जानकारीअनुसार पुस २७ गतेबाट शुरु भएको महोत्सव यही माघ २९ गते समापन हुनेछ । महोत्सवमा किराँत खानाका परिकार, सांस्कृतिक वेशभूषा, हातहतियार प्रदर्शन भइरहेको संयोजक सुब्बाले जानकारी दिए ।

भद्रपुर–८ का वडाध्यक्ष तथा किराँत कल्याण समितिका पूर्वअध्यक्ष गौरव सुब्बाका अनुसार सामाजिक एकता प्रदर्शन गर्दै जातीय पहिचानसहित किराँत संस्कृतिको संरक्षण गर्न महोत्सव फलदायी बन्नेछ ।

एघारौँ महोत्सवसम्म आइपुग्दा समितिले रु एक करोड २५ लाख खर्च गरेर तीनतले सुविधा सम्पन्न सामुदायिक भवन बनाउन सफल भएको जानकारी दिए । वडाध्यक्ष सुब्बाका अनुसार रु २५ लाख जति खर्च गर्न सके भवनको सम्पूर्ण निर्माण पूरा हुनेछ, जसका लागि महोत्सवको सहयोग लिइएको हो भने ।

किराँत कल्याण समितिकी अध्यक्ष सुमन राई भन्छन्,“सुविधा सम्पन्न सामुदायिक भवनलाई पार्किङस्थल आवश्यक परेकाले भवनसित जोडिएको एक कट्ठा जग्गा खरिद गर्नैपर्ने बाध्यता छ, जसका लागि पनि महोत्सव रोज्नु परेको हो ।”