राजनीति

संघीयताबारे बौद्धिक विमर्शको सुझाब यस्तो छ

बागलुङ । यहाँका जनप्रतिनिधि, राजनीतिकर्मी, नागरिक अगुवा, अध्यापक लगायतले संघीयता कार्यान्वयनमा सही विधि अपनाउनुपर्नेमा जोड दिएका छन् ।

धवलागिरि बहुमुखी क्याम्पसको समाजशास्त्र÷मानवशास्त्र विभागले शनिबार आयोजना गरेको ‘संघीयता, विकास र जनअपेक्षा’ विषयक बहस कार्यक्रममा सो कुरामा जोड दिइएको हो । संघीयताका राम्रा, नराम्रा दुवै पक्ष हुने हुँदा यसको कार्यान्वयनमा सावधानी अपनाउनुपर्ने सहभागीको भनाइ थियो ।

क्याम्पसको समाजशास्त्र÷मानवशास्त्र विभागका पूर्वप्रमुख मनबहादुर खत्रीले संघीयता संवेदनशील विषय भएकाले प्रक्रियासम्मत र जनअपेक्षाबमोजिम संघीयता अघि नबढे दुर्घटना निम्तिने बताए । “संघीयताको सही व्यवस्थापन नभए मुलुक जातीय, क्षेत्रीय द्वन्द्वमा फस्न सक्छ”, उनले भने ।

नेपाल महिला संघकी जिल्ला अध्यक्ष शकुन्तला शर्माले संघीयताले नागरिकलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । उनले नागरिकका अपेक्षा स्वाभाविक हिसाबले बढिरहेको भन्दै त्यसको परिपूर्ति अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गरे।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अम्मर थापाले आफ्नो पार्टीले असहमतिसहित संघीयता स्वीकारेको बताए ।

नागरिक समाजका जिल्ला संयोजक काजी गाउँले श्रेष्ठले संघीयता आफैँमा राम्रो, नराम्रो नहुने भन्दै यसको कार्यान्वयनको विधि प्रमुख रहेको बताए । विधि र प्रक्रिया खराब हुँदा विश्वका कतिपय मुलुकमा संघीयता असफल भएको उनले दृष्टान्त दिए । सुशासन, पारदर्शिता, जनउत्तरदायी शासन प्रणाली जस्ता विषयसँग जोडेर संघीयतामाथि बहस हुनुपर्ने उहाँको तर्क छ । “संघीयता अभ्यासमा आएको छ, यसको परिणाम हेर्न बाँकी नै छ”, संयोजक श्रेष्ठले भने, “संघीयता आयो भन्दैमा अधिकार र विकास आइहाल्ने भन्ने हुँदैन ।”

नागरिक अगुवा केवी रानामगरले संघीय व्यवस्थामा विकासले गति लिने विश्वास व्यक्त गरे । उनले विकासको स्वरुप बदल्नुपर्ने सुझाव दिए । विकासका अमूर्त कुरा र भाषण गरेर मात्र विकास नहुने भन्दै ठोस योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ । चुनावमा जाँदा दलहरुले अनावश्यक आश्वासन बाँड्दा पनि नागरिकको आकांक्षा बढेको उनको बुझाइ छ ।

नेकपा ९एमाले०का जिल्ला सचिव लालबहादुर थापाले संघीयताको व्यावहारिक कार्यान्वयनमा जोड दिए । उनले संविधानले निदृष्ट गरेअनुसार मुलुक संघीय संरचनामा गइसकेको भन्दै यसको सफल कार्यान्वयमा सबै लाग्नुपर्ने बताए । बागलुङ नगरापलिका–२ का अध्यक्ष जीवन आचार्यले संघीयता कार्यान्वयनमा जनप्रतिनिधि बढी जिम्मेबार रहेको बताए ।

उहाँले कम अनुभव र कतिपय नीतिगत अस्पष्टताले स्थानीय तहका जनप्रतिनिधिलाई काम गर्न कठिनाइ भइरहेको स्वीकार गरे । अध्यक्ष आचार्यले स्थानीय तह अधिकार सम्पन्न रहेकोले जनअपेक्षा सम्बोधन गर्ने गरी काम गर्न आफूहरु तयार रहेको उल्लेख गरे। विभागले बागलुङ नगरपालिका–१० भकुण्डेमा ‘संघीयता, विकास र जनअपेक्षा’ विषयमा प्राज्ञिक अध्ययन गर्ने तयारी पनि गरेको छ ।