शिक्षा

रवीन्द्र मिश्रद्वारा मिश्रद्वारा चेपाङ शिक्षामा ११ लाख सहयोग

रत्ननगर, चितवन । लेखक रवीन्द्र मिश्रले आफना पुस्तकहरुको बिक्रीबाट प्राप्त भएको आम्दानी (रोयल्टी) बाट तत्काल रु तीन लाख ५० हजार चेपाङ बालबालिकाको शिक्षाका लागि सहयोग गरेका छन् । उनले जम्मा ११ लाख सहयोग गर्ने भनिएपनि बाँकी रकम पछिका कार्यक्रममा सहयोग गर्ने बताए ।

मितेरी फाउण्डेशन नेपाल चितवनले सञ्चालन गरेको ‘खान पुगोस् दिन पुगोस् अक्षयकोष’मा मिश्रले उक्त रकम हस्तान्तरण गरेका हुन्। शनिबार नारायणगढमा आयोजित कार्यक्रममा मिश्रले रु तीन लाख ५० हजारको चेक फाउण्डेशनका अध्यक्ष एकल सिलवाललाई हस्तान्तरण गरे ।

यसअघि पनि मिश्रले पुस्तक बिक्रीबाट प्राप्त रोयल्टी अक्षयकोषमा हस्तान्तरण गरेका थिए । आजसम्म गरेर रोयल्टी बापतको रु ११ लाख मिश्रले फाउण्डेशनलाई हस्तान्तरण गर्नुभएको जनाइएको छ । उनका भूमध्यरेखा, मिश्रका कविता संग्रह र खानपुगोस् दिन पुगोस्, पुस्तक बिक्रीबाट प्राप्त रोयल्टी रकम मिश्रले उक्त कोषलाई हस्तान्तरण गर्दै आएका छन् ।

मितेरी पाउण्डेशन चितवनका अध्यक्ष एकल सिलवालले सो कोषबाट प्राप्त ब्याज चेपाङ बालबालिकाको शिक्षामा खर्च गर्ने गरेको बताए । चितवनको विकट गाउँ लोथरको कान्दामा २०६७ सालमा विषालु च्याउका कारण एकैघरका आठ जनाको मृत्यु भएपछि फाउण्डेशनले चेपाङको क्षेत्रमा काम गर्दै आएको छ । उक्त गाउँमा रहेको कान्देश्वरी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई फाउण्डेशनमार्फत जोडिएको लक्ष्मी प्रतिष्ठानले छात्रावास स्थापना गरी बालबालिकाको सर्वाङ्गीण विकासमा काम गरिरहेको छ । छात्रावासमा १२५ जना चेपाङ समुदायका विद्यार्थी आवासीय रुपमा शिक्षा लिइरहेका छन् । कोषले उक्त विद्यालयमा आवश्यकताअनुसार शिक्षकको तलब, पोशाक, स्टेशनरी लगायतमा सहयोग गर्दै आएको जनाइएको छ ।

लेखक मिश्रले चेपाङ बालबालिकाका लागि आफूले रकम सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्दै परोपकारी काममा खर्च गर्न कन्जुस्याइँ भइरहेको जिकिर गरे ।

चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले फाउण्डेशनले गर्दै आएको काममा संघले हातेमालो गर्न चाहेको उल्लेख गरे । नेपाल चेपाङ संघका अध्यक्ष लक्ष्मण चेपाङले फाउण्डेशनको कामको सराहना गर्दै अझै चेपाङको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए ।