खेलकुद

प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता शुरु

काठमाडौँ । प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता २०७४ आजदेखि शुरु भएको छ ।

यही माघ १५ गतेसम्म नेपालको तेक्वान्दो खेलकै इतिहासमा पहिलोपटक विद्यालयस्तरमा अध्ययनरत छात्रा विद्यार्थीको तौल समूहका निम्ति मात्र आयोजना गरिएको प्रतियोगिता हो । विद्यालयमा अध्ययनरत छात्रा तेक्वान्दो खेलाडीमात्र सहभागी गराई सञ्चालन गर्न लागिएको पहिलो प्रतियोगिता सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती रीता क्षत्रीले उक्त प्रतियोगिताको शुभारम्भ गरे । उक्त प्रतियोगितामा १९ विद्यालयबाट १५० छात्रा तेक्वान्दो खेलाडी सहभागी रहेका छन् ।

यस प्रतियोगितामा जुनियर र सिनियर गरी जम्मा १३ वटा तौल समूहमा फाइटिङ र एकल पुम्से १ र ग्रुप पुम्से १ गरी जम्मा दुई समूहमा पुम्सेको प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा जम्मा १७ स्वर्ण, १७ रजत र ३४ वटा काश्य पदक प्रदान गरिने छ ।

आ–आफ्नो डोजाङका खेलाडीले प्राप्त गरेको पदक तालिकाको आधारमा टिम प्रथम, टिम द्वितीय र टिम तृतीयको ट्रफी र प्रतियोगिता भरी सबैभन्दा उत्कृट खेल प्रदर्शन गर्ने जुनियर तौल समूहतर्फको एक र सिनियर तौल समूहतर्फको एक जना खेलाडीलाई उत्कृष्ट खेलाडीको ट्रफी, पदक र प्रमाणपत्रको समेत व्यवस्था गरिएको जनाइएको छ ।