अन्तर्राष्ट्रिय

आतङ्ककारी आक्रमणको राष्ट्रसंघद्वारा कडा रुपमा निन्दा

संयुक्त राष्ट्रसंघ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा गत आइतबार भएको आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ ।

निशस्त्र नागरिकको शान्तिपूर्ण रुपमा बस्नपाउने अधिकारको हनन् गर्नेमात्र नभएर यसरी उनीहरुको ज्यानलिने जस्तो अपराधको जतिसुकै निन्दा गरेपनि नपुग्ने संयुक्त राष्ट्रसंघका महासचिव प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उक्त आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको स्थानीय अधिकारीले जनाएका छन् । यस आक्रमणमा मारिएका व्यक्तिमा विदेशीहरु पनि परेका छन् ।

गत आइतबार राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलममा भएको यस आक्रमणमा परी २५ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरोहले एएएफपी समाचार समितिलाई बताएका थिए । सो सङ्ख्या बढेर ४० पुगेको छ ।

यस घटनामा अन्य १४० जना घाइते भएका अफगानी स्वास्थ्य अधिकारी वाहिद माजरोहले सिन्ह्वालाई जानकारी दिएका छन् ।

घाइतेहरुको स्थानीय विभिन्न अस्पतालहरुमा उपचार भईरहेको र केही घाइतेहरुको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिएका छन् ।

काबुलको मध्य भागमा पर्ने सिदारात स्क्वायरमा रहेको इन्टरकन्टिनेन्टल होटलममा स्थानीय समयानुसार दिउसो झण्डै १२।५० मा घटना भएको थियो ।

यस आक्रमणको जिम्मा तालिबान आतङ्ककारी समूहले लिएको छ । पाँच आतङ्ककारी होटेलभित्र प्रवेशगरी अफगान र विदेशी अधिकारी लक्षित आक्रमण गरेको बताइएको थियो ।

प्रहरीको कारबाहीमा ती आक्राणकारी पनि मारिएका छन् । राष्ट्रसंघले नागरिकको ज्यान लिनेजस्तो जघन्य अपराधबाट कसैको पनि भलो नगर्ने र उक्त समूहले गर्न खोजेको भनिएको स्वार्थ पनि कदापि पूरा नहुने बताएको छ ।

घटनास्थल अफगान गृह मन्त्रालयको पुरानो भवन नजिकै पर्दछ । आत्मघाती हमलाको तालिवान लडाकू समुहले जिम्मेबारी लिएको छ । घटनापछि सरकारी सुरक्षाकर्मीहरुले घटनास्थल आफ्नो नियन्त्रणमा लिएर दोषीहरुको खोजी कार्य तीव्र पारेको जनाएका छन् ।