पर्यटन/संस्कृति

शाली नदी मेलामा चौतर्फी लूट, भक्तजन यसरी भए पीडित

शंखरापुर, काठमाडौँ । उपत्यकाको पूर्वी भेगस्थित शंखरापुर नगरपालिकामा रहेको शाली नदी मेलाको अवसर पारेर दर्शनार्थी र सर्वसाधारणमाथि चौतर्फी लूट भएको पाइएको छ ।

मेलामा जाने यात्रुका लागि यातायातको ठूलो समस्या छ । रत्नपार्कबाट भद्रवास, डाँछी, आलापोट, गागलफेदी, साँखु र जहरसिंहपौवालगायत क्षेत्रको यातायातमा एकाधिकार जमाएको साँखु बस व्यवसायी संघका सवारी साधन ‘रुट परमिट’ अनुसार नचली ‘रिजर्भ’ जाँदा यात्रु सडकमा अलपत्र बन्न बाध्य भए ।

मेलामा आउन घटौँ सवारी साधन कुरेर बस्दा पनि पाउन नसकेको पुल्चोकबाट आएकी रचना तण्डुकारको गुनासो छ । रत्नपार्कबाट साँखुको सवारी साधन पाउन मुस्किल भएको उनले सुनाए ।

मेलाको अन्तिम शनिबार संघका सवारी चाबहिलसम्म मात्र सञ्चालन भए । यसरी चलेका सवारी साधनले पनि यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा असुले । चाबहिलसम्मको भाडा रु २७ तोकिए पनि कुनै पनि बसले रु ४० घटी नउठाएको यात्रुको भनाइ छ ।

साँखुमा लाखौँ यात्रु आएकाले सबैलाई सहज होस् भनेर साँखु–चाबहिलसम्म मात्र यातायात सञ्चालन गरिएको संघका सचिव एलपी श्रेष्ठले सुनाए ।

संघले यात्रुलाई सहज रुपमा सेवा दिन चाबहिलसम्म मात्र सवारी चलाएको दाबी गरेपनि यात्रुले भने बढी भाडा लिने र मेलाको मौका छोपेर पैसा कमाउने उद्देश्यले यसो गरिएको गुनासो गरे ।

साँखुको पुरानो बसपार्कमा सयौँ यात्रुले घेरिँदा सवारी साधनका परिचालकले चाबहिलसम्म मात्र जाने र भाडा रु ४० लाग्ने भनेर चढाएको सूर्यविनायकबाट आएका यात्रु श्यामकृष्ण थापाले बताए ।

संघले यो मार्गमा १२० सवारी सञ्चालनमा रहेको दाबी गरेपनि आधा घण्टा कुर्दा पनि बस पाउन नसकिएको धेरै यात्रुले गुनासो गरे । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष राजभाई श्रेष्ठ अन्तिम शनिबार भएकाले पाँच लाख भन्दा बढी दर्शनार्थी आउँदा समग्र व्यवस्थापन गर्न धौधौ परेको बताउछन् ।

साँखु शालिनदी क्षेत्रमा मेलाको अवसरमा खुलेका होटलले पनि महँगो मूल्य असुलेको बनेपाबाट आउनुभएका भक्तजन रामचन्द्र श्रेष्ठले बताए ।

मेलाकै अवसरमा राखिएका तयारी पोशाक एवं अन्य सामग्रीका पसलले पनि बजार भाउभन्दा बढी नै मूल्य लिने गरेको उपभोक्ताको भनाइ छ । आफैँ सवारी लिएर जाने यात्रुलाई पार्किङ शुल्कका नाममा मनलागी पैसा उठाइएको छ ।

चाबहिल–जोरपाटी–साँखु सडक विस्तार सम्पन्न नहुँदा धुलाम्य र खाल्डाखुल्डीले आवतजावतमै समस्या छ ।