खेलकुद

मदन भण्डारी गोल्डकपको उपाधि थ्री स्टारलाई

इटहरी । मनाङ–मस्र्याङदी क्लबलाई १–० ले पराजित गर्दै यहाँ जारी मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ ।

मदन भण्डारी फाउण्डेशनको सहयोगमा राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा शनिबार भएको फाइनल खेलमा थ्री स्टारले ३७ औँ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो । विमल घर्तीमगरको पासमा चेम्जोङले गोल गरेका थिए ।

निकै प्रतिष्पर्धात्मक बनेको उक्त खेलमा त्यसपछि गोल हुन सकेन र थ्री स्टारले उपाधिमाथि कब्जा जमायो । उपाधिसँगै थ्री स्टारले रु १२ लाख हात पारेको छ ।

झण्डै दुई वर्षसम्म फुटबल खेल मैदान बाहिर रहेको थ्री स्टारले आफ्नो क्लबको लोगोमा पहिलोपटक प्रदेश १ को खेलकुद सिटीको घोषणाको पूर्वसन्ध्यामा आकर्षक इटहरी रङ्गशालामा भाग लिँदै यतिधेरै राशिको पुरस्कारमाथि बाजी मा¥यो भने क्लबबाट खेलिरहेका खेलाडीहरूले व्यक्तिगत आर्थिक लाभका नगद पुरस्कारहरू समेत प्राप्त गर्दै एक दिनअघि सञ्चारकर्मीसँग गरेको उपाधि जित्ने घोषणाको दाबी सफल पा¥यो ।

प्रतियोगितामा थ्री स्टारका अनन्त तामाङले प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडी घोषित बन्दै रु २५ हजार र ४२ इन्चको कलर टेलिभिजन प्राप्त गरेका छन् । त्यसैगरी सोही क्लबका प्रशिक्षक मेघराज केसीले उत्कृष्ठ प्रशिक्षकको उपाधिसहित रु २० हजार प्राप्त गरे ।

यसैगरी थ्री स्टारकै गोलरक्षक एलेन न्यौपानेले उष्कृष्ठ गोल रक्षकको उपाधिसहित रु २० हजार प्राप्त गरे भने अजय मार्टिनले उत्कृष्ट मिकफिल्डर घोषित हुँदै रु २० हजार प्राप्त गरेका छन् ।

उपविजेता मनाङले रु पाँच लाख हात पा¥यो । त्यसैगरी सोही क्लबका तर्फबाट सुजल श्रेष्ठले सर्वाधिक गोलको उपाधिसहित रु १५ हजार प्राप्त गरे भने मिडफिल्डरतर्फ मनाङका हेमन गुरुङले रु २० हजार र राइजिङ्ग प्लेयरतर्फ आयोजक राजा क्लबका खेलाडी विजय राई घोषित हुँदै रु १० हजार प्राप्त गरे ।

विजेता तथा उपविजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले शिल्ड र उपाधि प्रदान गरे ।