राजनीति

सरकारको निर्णय जनताको हितमाः कृषिमन्त्री यादव

काठमाडौँ । कृषिमन्त्री रामकृष्ण यादवले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हालै गरेका निर्णय जनताको हितमा भएकाले ती राम्रा कामहरुको चर्चा परिचर्चा देशव्यापी बनेको बताएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले ६५ वर्षका वृद्धलाई वृद्ध भत्ता दिने तथा भूकम्पपीडितलाई रु एक लाख वृद्धि गर्ने तथा शहीद घोषणा गर्ने सरकारको पछिल्लो निर्णय धेरै वर्षदेखि अप्ठ्यारोमा रहेका शहीद परिवारका लागि राम्रो पक्ष भएकाले कसैले विरोध गर्नु आवश्यक नभएको बताए । उनले ती निर्णय अब बन्ने सरकारले उल्टाउनुको कुनै तुक नभएको बताए ।

नेकपा (एमाले)का नेता सोमप्रसाद पाण्डेले एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भइसकेको र अब घोषणा गर्न मात्र बाँकी रहेको दाबी गर्नुभयो । उनले केही वर्ष अघिसम्म नदीको दुई किनारमा रहेका पार्टी एकै ठाउँमा मिलेको उल्लेख गरे ।

नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले एमाले पार्टीको अध्यक्ष पद प्रचण्डलाई दिए मात्र पार्टी एकता हुने बताउँदै पार्टी एकताका लागि फलामको च्यूरा चपाउनु जतिकै गाह्रो भइरहेको छ भने ।

राष्ट्रिय जनता पार्टीका नेता लालबाबु राउतले संविधानमा गम्भीर त्रुटि रहेकाले लामो समयसम्म नयाँ सरकार बन्न नसकेको बताए । एमालेले संविधानको धारा २७४ सहित जनविरोधी धारा संशोधन गर्न तयार भए मात्र संविधान संशोधनको मुद्दामाथि छलफल चलाउन सकिने बताए ।

सरकारी निर्णयको स्वागत

यसैबीच पूर्वी रुकुमका नेकपा (एमाले), नेपाली काँग्रेस तथा नेकपा (माओवादी केन्द्र)का नेताहरुले पूर्वी रुकुमको सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका–१२ गोलखाडा, कोलमा स्थापना गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।

रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले सरकारले हालै गरेको उक्त निर्णय तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । माओवादी केन्द्रका नेता पुनिराज घर्तीमगर, काँग्रेसका धुव्र पुनमगर र एमालेका नेता मस्त बुढामगरद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त सरकारी निर्णयको स्वागत गरिएको हो ।

उनीहरुले प्रधानमन्त्री देउवालाई पूर्वी रुकुमका उत्पीडित र उपेक्षित मगर तथा अन्य जातजाति र समुदायका तर्फबाट विशेष धन्यवादसमेत व्यक्त गरे ।

कार्यक्रममा पूर्वमन्त्री केशरमान रोकाले सरकारको निर्णय स्वागतयोग्य रहेको भन्दै वर्तमान सरकारले अत्यन्तै राम्रो निर्णय गरेको र सबैलाई न्याय पाएको महशुस भएको बताए ।