पु.समाचार

वल्र्डवारको अविश्मरणीय घटना अग्निदाहको काठमाण्डौमा प्रदर्शनी

गौतमबुद्ध बज्राचार्य
काठमाडौँ । नेपाल कला परिषद्मा प्रदर्शनमा रहेको दोस्रो विश्वयुद्धताको होलोकोष्ट(अग्निदाह) घटनालाई समेटी तयार गरिएको तस्वीर यस वर्ष पनि प्रदर्शनी गरिएको छ ।

सन् १९४१ देखि १९४५ सम्म नाजी जर्मन पार्टीले जर्मनी र तिनको नियन्त्रणमा रहेका भूभाग र सहयोगी देशबाट दशौँ लाख यहुदीलाई विभिन्न बन्दीगृह र हत्या केन्द्रमा स्थानान्तरण गरेको थियो । मानव उन्मूलन शिविर भनिएको जुन ठाउँमा विशेष रुपमा निर्मित ग्यास च्याम्बरमा तिनीहरुको आमहत्या गरिएको थियो । विश्वयुद्धको अन्तिम महिनामा गठबन्धन सेनाले जर्मनीविरुद्ध व्यापक आक्रमण गर्न थालेपछि ठूलो संख्यामा यहुदीलाई स्वतन्त्र गरिदिने भयले एसएस गार्डले रेलबाट एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तर गरेका थिए ।

सन् १९४५ मे ७ मा जर्मन सेनाले गठबन्धन सेनासमक्ष निःशर्त आत्मसमर्पण गरेको इतिहास छ । होलोकोष्टको इतिहास जटिल विषय हो । ग्रीक भाषामा होलोकोष्टको अर्थ अग्निदाह हो । साठी लाख यहुदीलाई मार्ने योजना नाजी र तिनका सहयोगीको संगठित, प्रशासनिक तथा राज्यद्वारा समर्थित योजना हो ।

इजरायली दूतावासका वरिष्ठ अधिकारी केशव श्रेष्ठले दोस्रो विश्वयुद्धमा ठूलो मानव संहार भएको घटनालाई स्मरण गर्दै त्यस्तो घटना फेरि नदोहोरियोस् भनेर त्यसबेलाको होलोकोष्ट घटना स्मरण गराउन प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो । चार वर्षदेखि आयोजना गरिँदै आएको तस्वीर प्रदर्शनी अहिले होलोकोष्टको पूर्वसन्ध्यामा आयोजना गरिएको हो ।

प्रदर्शनी संयुक्त राष्ट्र संघ, इजरायल, जर्मनी तथा युरोपेली सङ्घको संयुक्त तत्वावधानमा बुधबारदेखि शुरु भई शुक्रबार सम्पन्न भएको छ । प्रदर्शनीमा स्लोभाकिया र हाइफा पोर्टमा होलोकोष्ट घटनाबाट बाँचेका यहुदी केटाकेटीका तस्वीर राखिएका छन् । त्यसबेला रुसको जंगलमा जर्मन सेनाको नियन्त्रणमा रहेको ‘सायद भेरी सायद’ तस्वीर, आम्स्टर्डमबाट निष्काशित जस्ता हृदयविदारक तस्वीर तथा सन् १९४१ जुन २२ मा जर्मन सेनाले सोभियत सङ्घमाथि गरेको आक्रमणको तस्वीर विशेष आकर्षणका रुपमा थिए । नेपाल पर्यटन बोर्डमा बुधबारआमसंहारसम्बन्धी शिक्षात्मक चलचित्र पनि प्रदर्शन गरिएको थियो ।