आर्थिक

पीडितलाई सहुलियत ब्याजदरको ऋण दिन निर्देशन

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका लागि सहुलियत दरको ऋण उपलब्ध गराउन सम्बन्धीत निकायका अधिकारीलाई निर्देशन दिएको छ ।

प्राधिकरणमा आज अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकर्स एसोसिएसनका प्रतिनिधिसँगको छलफलपछि यस्तो निर्देशन दिइएको हो । हालसम्म प्रमाणित भएका सात लाख ६७ हजार भूकम्पपीडितमध्ये ६५९ पीडितले मात्र यो सुविधा पाएका छन् ।

छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले तीन दिनभित्र ऋण दिने विधि र प्रक्रिया बैंकमा सार्वजनिकरुपमा टाँस गर्न निर्देशन दिए ।

अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले ऋणको ब्याज सरकारले दिने प्रतिबद्धता जनाएको जानकारी दिए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पीडितलाई ऋण दिँदा दुई प्रतिशत ब्याजबाहेक अन्य रकम लिन नपाउने व्यवस्था कार्यविधिमा गरिएको बताए।

बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सरकारसँग भएको सम्झौताअनुसार उपत्यकाका भूकम्पपीडितका लागि रु २५ लाख र बाहिरका पीडितका लागि रु १५ लाख नदिने बैंकलाई कारबाही गरिने प्रतिबद्धता जनाए ।