साहित्य

ओझेलवारि र ओझेलपारि विमोचन

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ जीवेन्द्रदेव गिरीले आज काठमाडौँमा ‘ओझेलवारि र ओझेलपारिका केही साहित्यकार’ समालोचना ग्रन्थको विमोचन गरे ।

नेपाली साहित्यमा विशेष योगदान पु¥याउनु हुने ३८ साहित्यकारको सन्दर्भमा लेखिएको उक्त पुस्तकका लेखक डा यज्ञश्वर निरौला छन् ।

साहित्यकार भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, मोतीराम भट्ट, लेखनाथ पौड्याल, धरणीधर कोइराला, बालकृष्ण सम, भीमनिधि तिवारी, गोपालप्रसाद रिमाल, हरिभक्त कटुवाल, भूपी शेरचनलगायत कविका विभिन्न लेखरचनाका बारेमा समालोचन गरिएको उक्त पुस्तक पठनीय छ ।

कृतिमा प्रसिद्धिको शिखरमा पुगेका र कतिपय जुन रुपले कर्म गरे, त्यस आधारमा प्रसिद्धि पाउन नसकेका दुवैथरि व्यक्तित्वको त्यति चर्चामा नल्याइएका विषयलाई अगाडि सारेर सैद्धान्तिक र प्रायोगिक पक्षबाट छोटो छरितो विश्लेषण प्रस्तुत गरिएको छ ।

आफ्नो अध्ययन, अनुभव र चिन्तनबाट प्राप्त ज्ञानका आधारमा समालोचक निरौलाले नेपाली भाषा, साहित्य र कलाका अनुसेवक, ओझेलवारिकालाई त्यसरी नै रङमा गाढापन ल्याइदिने प्रयास गरेका छन् ।

पुस्तक २०४ पृष्ठको छ । पुस्तकका सन्दर्भमा आज साहित्यकार तथा लेखक नेत्र एटम, वसन्तप्रकाश शर्मा, जगदीश भण्डारी, राजेन्द्र सुवेदी, हेमनाथ पौडेल, कुमार कोइरालालगायतले विवेचना गरेका थिए ।