अन्तर्राष्ट्रिय

प्यालेस्टिनीलाई सहयोग रोक्ने डोनाल्ड ट्रम्पको चेतावनी

डाभोस, स्वीट्जरल्याण्ड । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयता रकम रोक्ने चेतावनी दिएका छन् ।

हाल अमेरिकाको नेतृत्वमा भइरहेका शान्ति प्रयासहरुमा सहभागीता नजनाएसम्म उक्त रकम रोक्ने जानकारी दिएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीहरू वार्तामा आउनुपर्नेमा जोड दिए । उनीहरु शान्ति वार्तामा नआए शान्ति प्रयासका लागि गर्ने थप कामहरु आफ्नो प्रशासनले नगर्ने बताएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले यो घोषणा दोस्रो पटक गरेका हुन् । अमेरिकी विदेश मन्त्रालयले पनि प्यालेस्टिनीलाई बिगतदेखि उपलब्ध गराउँदै आएको सबै सहायताका बारेमा पुनर्विचार भइरहेको यसअघि नै बताइएको थियो ।

राष्ट्रपति ट्रम्प विश्व आर्थिक मञ्चमा सहभागीताका लागि डाभोसमा छन् । सो कार्यक्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु उपस्थित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले सो धारणा राखेका हुन् ।

अमेरिकाले यसमध्येको अधिकांश अमेरिकी रकम आर्थिक सहयोगमा केन्द्रित रहेको र सुरक्षाकर्मीको तालिमका लागि थौरै छुट्याइएको बताएका छन् ।

तर अमेरिकाले दिने भनिएको सो सहयोगमा के कटौती गर्ने र कहिलेसम्म कटौती गरिसक्ने भन्नेबारेमा भने अहिले नै अमेरिकाले कुनै निर्णय गरेको छैन ।

राष्ट्रपति ट्रम्पले गत डिसेम्बर ६ मा गरेको निर्णयमा जेरुसलेमलाई इजरायली राजधानीको मान्यता दिएयता प्यालेस्टिानीहरु अमेरिकाको कुनै पनि वार्तामा सहभागी हुन अस्वीकार गरेका छन् ।

सो मुद्दाप्रति प्यालेस्टिनीको व्यापक मात्रामा विरोध रही आएको थियो । उक्त मुद्दा संयुक्त राष्ट्रसंघमा नै पुगेपछि त्यसम अमेरिकी निर्णय असफल भएको छ ।