राजनीति

काँग्रेसलाई सत्ताको लोभ छैन प्रतिपक्षमा बस्छः नेता खाँण

चितवन । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस अब बन्ने सरकारमा प्रतिपक्षमा बस्ने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेस सरकारमा जाने कुनै योजना नरहेको बताए ।

उनले भने, “कुनै नेताले व्यक्तिगत रुपमा भन्ने कुरा अलग हो, पार्टीको सरकारमा जाने योजना छैन ।”

उनले थपे, “पार्टीको आधिकारिक धारणा प्रतिपक्षमा बस्ने हो, सरकारले के कस्ता नीति तथा कार्यक्रम ल्याउँछ, त्यसमा आधारित भएर रचनात्मक सहयोग गर्छौंं ।” उनले काँग्रेसको सिटको संख्या घटेकाले सरकार निर्माणका लागि जनादेश नभएको पनि बताए ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच तालमेल गरेर निर्वाचनमा गएको भन्दै उनले उहाँहरुकै बहुमत भएकाले कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषय उहाँहरुकै विषय भएको पनि बताए ।

आउँदो निर्वाचनसम्ममा काँग्रेसलाई पहिलो पार्टी बनाउने भन्दै उनले त्यसैका लागि काँग्रेस गृहकार्यमा लाग्ने बताए । पार्टीभित्रका गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने पनि उनले बताए ।

अर्को एक प्रश्नमा उनले नेतृत्व परिवर्तनले पार्टीमा किचलो बढ्न सक्ने भन्दै पार्टीको ढाँचा परिवर्तन गरी प्रादेशिक संगठन बनाउनु पर्ने बताए ।

सरकारले जनताका अपेक्षाअनुसारका निर्णय गरेको भन्दै अब बन्ने सरकारले यसलाई के गर्छ भन्ने विषय उसैको सरोकारको विषय भएको उनले बताए ।