आर्थिक

नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइने

नेपालगन्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बाँके जिल्लाको ऐतिहासिक भूमिकालाई कुनै पनि हालतमा ओझेलमा पर्न नदिइने बताएका छन् ।

यहाँ आजदेखि शुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन गर्दै उहाँले प्रदेशको राजधानी जहाँ भए पनि प्रदेशअन्तर्गतका सबै जिल्लाको विकासको गति रोकिन नदिनेतर्पm सोच्नुपर्छ भने ।
पूर्वप्रधानमन्त्री दाहालले नेपालगन्जबाट मानसरोवर जाने तीर्थयात्री एवं पर्यटकको सङ्ख्या ह्वात्तै बढेकाले नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल बनाउन आफूले सक्दो पहल गर्ने विश्वास दिलाए ।

महोत्सव उद्घाटन समारोहमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यद्वय नन्दलाल रोकाय र इस्तियाक राई लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा अध्यक्ष दाहाललाई प्रदेश नं ५को राजधानी बाँके हुनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाइएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा यही माघ २२ गतेसम्म चल्ने महोत्सवमा स्वदेशी र विदेशी कम्पनीका ३१६ कक्ष राखिएका छन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति पनि रहनेछ । महोत्सव उद्घाटनअघि झाँकीसमेत प्रदर्शन गरिएको थियो ।