खेलकुद

मनाङ मस्र्याङ्दी फाइनलमा

इटहरी । गरिफा स्पोर्टिङ क्लब कोलकाता भारतलाई ३–० गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा मनाङले लगातार गोल गर्न सफल भयो । मनाङ्गले दोस्रो हाफको खेल शुरु भएको दोस्रो मिनेटमै सन्तोष साहुखलले आफ्नो टोलीका लागि पहिलो गोल गरे । त्यस्तै दोस्रो हाफको २१ औँ मिनेटमा पुनः साहुखलले अर्को गोल थप्दै आफ्नो टोलीका लागि २ गोल गरे ।

त्यसैगरी दोस्रो हाफको ३० औँ मिनेटमा विमल रानाले गोल गर्दै अग्रता तेब्बर पारे । त्यसपछि खेलमा गोल हुन सकेन र मनाङले खेल ३–० ले जित्यो । शनिबार मनाङ्ग मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी थ्रिस्टार उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।