पु.समाचार

उपत्यकाका पाँच सय भूकम्पपीडितलाई सहुलियत दरमा काठ

काठमाडौँ । द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले उपत्यकाका ४८६ भूकम्पपीडितलाई सहुलियत दरमा काठ उपलब्ध गराएको छ ।

विसं २०७२ वैशाख १२ को भूकम्पबाट भत्केको घरको पुनःनिर्माण गर्न पुस मसान्तसम्म पीडित परिवारलाई सहुलियत दरमा काठ उपलब्ध गराएको हो ।

भूकम्पबाट क्षति पुगेका घरको पुनःनिर्माण गर्न चाहिने काठ सरकारले सहुलियत दरमा उपलब्ध गराउने घोषणा गरेसँगै कर्पोरेशनले २०७४ जेठ २९ देखि काठ उपलब्ध गराउँदै आएकामा काठमाडौँमा १४७, भक्तपुरमा २६६ र ललितपुरमा ७३ छ । कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले काठमाडौँमा सात हजार २५९, भक्तपुरमा १२ हजार ९९० र ललितपुरमा तीन हजार ४५४ क्यूफिट काठ उपलब्ध गराएको जानकारी दिए ।
कर्पोरेशनले एक परिवारलाई अधिकतम ५० क्यूफिटसम्म सहुलियत दरमा काठ उपलब्ध गराउँछ । सहुलियत दरको मूल्य प्रतिक्यूफिट दुई हजार ७४० पर्छ । कर्पोरेशनले सहुलियत नदिँदा रु तीन हजार ५०० मा काठ बिक्री वितरण हुँदै आएको छ ।

काठ लिन नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, भूकम्पपीडित परिचयपत्र, पुनःनिर्माणसँग भएको आवास पुनःनिर्माण सम्झौताको प्रतिलिपि, जग्गाधनीको प्रमाणपूर्जा प्रतिलिपि, भवन निर्माण इजाजत प्रतिलिपि र नक्सा पेश गर्नुपर्ने हुन्छ ।