स्वास्थ्य

सुन्न र बोल्न नसक्ने शशिराजको आम्दानी चार लाख

रामपुर, पाल्पा। रामपुरका युवा शशिराज डोटेल अपाङ्ग भए पनि छजनाको परिवार उनकै भरमा चलेको छ । उनी सुन्न र बोल्न सक्दैनन् पनि उनले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिभन्दा कुनै कम छैन ।

शशिराजको कृषि कार्य देख्ने जो कोही पनि दंग छन् । उनले विगत १० वर्षदेखि चार रोपनी जग्गामा तरकारी गर्दै आएका छन् । उनी तरकारी व्यवसायबाट जिल्लामै अगुवा कृषकका रुपमा चिनिन्छन् । डोटेलको कृषि पेशाप्रतिको मेहनत, लगाव र लगनशीलता आश्चर्यचकित पार्नेखालको छ ।

डोटेलले तरकारी लगाएर छोराछोरीको पढाइ खर्च र घरायसी खर्च चलाउने गरेका छन् । तरकारी खेतीका अलवा अहिले उनले तीनवटा दुहुना भैँसी, ५०० कुखुरा र नौवटा बाख्रा पाल्दै आएका छन् । डोटेलले अहिले दैनिक २० लिटर दूध बिक्री गर्छन् । उहाँले वार्षिक रु चार लाखसम्म आम्दानी गर्छन् ।

साढे दुई वर्षको उमेरमा मेनेन्जाइटिस रोगबाट ग्रसित डोटेलले विभिन्न ठाउँमा उपचार गरे पनि निको नहुँदा जीवनभर सुन्ने र बोल्ने क्षमता गुमाउनुभएको छ । छोराको व्यवसायबाट आमा भगवती निकै खुशी छन् ।

“छजना सन्तानमध्ये एटा छोरो मानसिक रुपमा अशक्त भए पनि उसको व्यवसायले मनमा हौसला बढ्दै गएको छ”, भगवतीले भनिन् “सानोमा मज्जाले बोल्ने सुन्ने छोरो रोग लागेर जीवनभर सुन्न र बोल्न नसक्ने भए पनि काम, मेहनत र लगनशीलता देख्दा निकै खुशी लागेको छ ।”

शशिराज तरकारीको बिरुवा उमार्न, बेर्ना लगाउन, गोडमेल, रेखदेख, उत्पादनदेखि बिक्री गर्नका लागि आफैँ मोटरसाइकल चलाएर बजार पुग्छन् । कक्षा ८ सम्मको शिक्षा लिनुभएका उहाँलाई श्रीमती दुर्गाले साथ दिँदैआउनुभएको छ । बैंकिङ कारोबारदेखि घरायसी व्यवहार उनी आफैंले गर्दै आएका छन् ।

“सुन्न र बोल्न नसक्ने भए पनि काम र लगनशीलता सवलाङ्ग व्यक्तिको भन्दा कम छैन,” उनले भने । शशिराजले सामुदायिक कृषि सहायक तीन महिने तालीम पूरा गरेका छन् । यसले व्यवसाय गर्न सजिलो भएको छ । उनको व्यवसाय प्रशंसायोग्य मात्र नभई सबैका माझ नमूना बनेको छ । मान्छेले भित्री मनदेखि नै इच्छा शक्ति देखाएर काम ग¥यो भने व्यवसायमा सफल भइन्छ भन्ने उदाहरणीय पात्र शशिराज बनेका छन् ।