कृषि

विचौलियाद्वारा यसरी ठगिँदैछन् उखु किसान

गौशाला । महोत्तरीका उखु किसान विचौलियाद्वारा ठगिँदै गएका छन् । रामनगरस्थित एभरेष्ट चिनी उद्योगले विचौलिया परिचालन गरेर सस्तोमा उखु खरिद गरिरहेको छ । सरकारले मूल्य निर्धारण नगर्दा उद्योगले सस्तोमा उखु खरिद गर्दा किसान ठगिएका हुन् ।

जिल्लामाा ११ हजार बिगाहामा लगाएको २२ लाख क्विन्टल उखु किसानले पुरानै मूल्य प्रतिक्विन्टल रु ४३० मा बिक्री गरिरहेका छन् । उखुको पकेट क्षेत्र जिल्लाको पश्चिमी र उतरी भेगका अधिकांश किसानले विचौलियालाई अघिल्लो वर्षको मूल्यभन्दा प्रतिक्विन्टल रु १०० देखि रु १५० सम्म घाटा खाएर बिक्री गरिरहेका छन् ।

उद्योगलाई आफ्नो क्षमताअनुसार क्रसिङ गर्न उखुको अभाव हुँदासमेत किसान उचित मूल्य नपाउँदा मारमा परेका छन् । अभाव हुँदासमेत उद्योगी आफैँले विचौलिया लगाएर सस्तोमा उखु खरिद गरिरहेका छन् । किसानलाई तौलमा ठग्ने तथा बिक्री पूर्जी सस्तोमा खरिद गर्ने गरिएको छ । उचित मूल्य पाउने आशामा रहेका किसानलाई उद्योग आफैँले तौल केन्द्र राखेर सस्तोमा उखु खरिद गर्न विचौलियालाई लगाएको उनीहरुको आरोप छ ।

समयमा मूल्य निर्धारण नहुँदा तथा उचित मूल्य नपाएपछि उखु खेती मासिँदै गएको छ । उत्पादनमा अग्रणी जिल्ला भएपनि किसानले पछिल्लो समय उखु मासेर मकै, कोदो, धान तथा अन्य बाली लगाउन थालेका छन् ।