पु.समाचार

चितवन–पर्सा कम्प्लेक्समा बाघ गणनाः बाघको उपस्थिति राम्रो

रत्ननगर, चितवन । चितवन र पर्सा कम्प्लेक्समा दुर्लभ पाटेबाघको उपस्थिति राम्रो पाइएको छ ।

विगत दुई महिनादेखि नेपाल र भारतमा एकैसाथ शुरु भएको दुर्लभ पाटेबाघको गणना (अनुगमन) अन्तर्गत यहाँ भने बाघको उपस्थिति राम्रो पाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले जानकारी दिए ।

“फिल्डमा खटिएका साथीहरुबाट सकारात्मक रिपोर्टिङ छ”, भट्टराईले भन्नुभयो, “बाघ राम्रो पाइएको छ, बढेको अनुमान गर्न सकिन्छ ।” उनका अनुसार चितवन–पर्सा कम्प्लेक्समा बाघको अनुगमन अन्तिमतिर पुगेको छ । बर्दियामा तेस्रो चरणको अनुगमन शुरु हुन लागेको र अब छिट्टै शुक्लाफाँटामा क्यामेरा जडान हुनेछ ।

गणनाकै बेला सरकारी वन क्षेत्रमा समेत क्यामरा ट्र्यापिङ विधिको प्रयोग गरिएको यहाँ पहिलो पटक हो । पहिले पाइला हेरेर सरकारी वनमा बाघको अनुगमन गरिएको भएपनि अहिले क्यामेरा नै राखेर गणना भइरहेकाले बाघको सङ्ख्या बढ्ने अनुमान गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्याल बताउछन् ।

उनका अनुसार पहिले बाघ फेला परेका ठाउँमा अहिले पनि क्यामरामा कैद भइरहेको छ । चोरी–शिकार नभएको र बासस्थानसमेत राम्रो देखिएको तथा सामुदायिक वन क्षेत्रमा समेत अनुगमन भइरहेकाले बाघ बढ्ने उनी बताउछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधि सहितको क्यामरा ट्र्यापिङ विधिबाट बाघको गणना भइरहेको छ । मंसिर १४ गतेदेखि बाघ गणना थालिएको थियो ।

कार्यक्रम संयोजक भट्टराईले देशभरको गणनामा करिब १५० क्यामेरा, आवश्यकताअनुसार हात्ती र करिब २०० जनशक्ति खटाइएको छ । उनले बाघ नदोहोरियोस् भनेर एउटै विधिमा र एकै समयमा नेपाल र भारतमा गणना भइरहेको बताए । पाटे बाघ र यसको आहारा, प्रजातिको अवस्था पत्ता लगाई आवश्यक संरक्षण योजना निर्माणका लागि बाघ गणना गरिएको हो ।

यसअघि सन् २०१३ मा गणना भएको थियो । सन् २०१३ को बाघ गणनामा नेपालमा १९८ बाघ रहेको पाइएको थियो जसमा १२० बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको तथ्यांक छ । यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, शुक्लापाँटामा १७, पर्सामा ७ र बाँकेमा चारवटा पाटे बाघ रहेको तथ्यांक रहेको थियो ।