अन्तर्राष्ट्रिय

अमेरिकामा शक्तिशाली भूकम्पपछि खतरनाक सुनामीको चेतावनी

जुनाउ, अलास्का । उत्तर अमेरिकी राज्य अलास्कामा मङ्गलबार ८।२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्विक विभाग (यूएसजिएस)ले भूकम्पका कारण सुनामी आउनसक्ने बताउँदै अमेरिकाको पश्चिमी सामुद्रिक क्षेत्र तथा हवाइ क्षेत्रका सुनामीको सम्भावित प्रभावबाट जोगिन नागरिकलाई विशेष साबधानी अपनाउन भनेको छ ।

अलास्काको कोडियक क्षेत्रबाट ३०० किलोमिटर दक्षिणपूर्वमा सामुद्रिक सतहबाट करिब १० किलोमिटर गहिराइमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको विभागले जनाएको छ ।

उत्तरपश्चिमी प्यासिफिक सुनामी सचेतना केन्द्रले पनि भूकम्पपछिको प्रारम्भिक अनुसन्धानपछि भूकम्प प्रभावित क्षेत्रमा ‘खतरनाक तथा विशाल सुनामीका छाल’ आउने बताएको छ ।

उक्त क्षेत्रका नागरिकलाई जमिनका अग्ला सतहमा गई शरण लिन निर्देशनसमेत गरिएको छ ।

यद्यपि भूकम्पका कारण भएका ठूला क्षतिको विवरण भने समाचार तयार पार्दासम्म प्राप्त भएका छैनन् ।