पु.समाचार

संसद् सचिवालयका सचिव कार्की र सुबेदीले लिए स्वेच्छिक अवकाश

काठमाडौँ । संघीय संसद् सचिवालयका दुवै सचिवले स्वेच्छिक अवकाशका लागि राजीनामा दिएका छन् ।

सरकारले बीस वर्ष सेवाअवधि र ५० वर्ष उमेर नाघेका स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीलाई बाँकी सेवाअवधिको सुविधासहित अवकाश योजना ल्याएपछि उनीहरुले राजीनामा दिएका हुन् ।

तीन सय ३० को हाराहारीमा दरबन्दी रहेको संसद् सेवामा कर्मचारीको सेवा उमेरहद ६० वर्ष रहेको छ ।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सचिवद्वय हिमलाल सुवेदी र वीरेन्द्रबहादुर कार्कीले स्वेच्छिक अवकाश रोजेको जानकारी दिए । उनीहरुले दिएको राजीनामा भने स्वेच्छिक अवकाशको कार्यक्रम लागू भएको मितिदेखि स्वीकृत हुनेछ । सचिवालयका हालसम्म एक सहसचिव, एक उपसचिव, चार अधिकृतसहित १४ जनाले स्वेच्छिक अवकाशका लागि राजीनामा दिइसकेका छन् ।

सरकारले पुस २८ गतेदेखि ४५ दिनको म्याद राखेर स्वेच्छिक अवकाशमा जान चाहने कर्मचारीका लागि सूचना जारी गरिको थियो ।