राजनीति

हामी सच्चा क्रान्तिकारी कम्न्युष्ट हौं : सिपी गजुरेल

गाईघाट, उदयपुर । नेकपा(माओवादी क्रान्तिकारी)का नेता सिपी गजुरेलले सबै तहका निर्वाचन सम्पन्न भए तापनि राजनीतिक रुपमा नेपाल अझै पनि जटिल राजनीतिक संक्रमणकालमा रहेको बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता गजुरेलले प्रदेश र केन्द्रको सरकार गठन हुन नसकेको तथा सरकार पनि कामचलाउ मात्र भएर अझै पनि बहुमतीय सरकारजस्तै काम गरिरहेको आरोप लगाए ।

विसं २०५२ देखि आफूहरुले बन्दुक उठाउनुको अर्थ गणतन्त्र मात्र प्राप्त गर्नु नभएर जनगणतन्त्रसम्म पुग्नका लागि भए तापनि आज केही कम्युनिष्टले सबै लक्ष्य र उद्देश्यलाई वाम गठबन्धनका नाममा दक्षिणपन्थीतर्फ संशोधन गर्दै लगेको विचार व्यक्त गरे ।

“वैचारिक रुपमा नेपाली काँग्रेस २०१५ सालभन्दा अगाडि बढ्न सकेको छैन, नेकपा (एमाले) र माओवादी केन्द्रले सच्चा कम्युनिष्टको नारा दिएर वाम गठबन्धनको नाममा दक्षिणपन्थतर्फ कम्युनिष्ट आन्दोलनलाई लगेका कारण देशमा अझै संघर्ष बाँकी छ”, उनले भने ।

अब कम्युनिष्टको नेतृत्व आफूहरुले गर्ने तर हिजोको जस्तो जनयुद्ध नभई वैचारिक मोर्चा र संघर्षबाट आफूहरुले नेपाली जनतामा दक्षिणपन्थको भण्डाफोर गर्दै नेपाललाई सच्चा समाजवादतर्फ डो¥याउने जिकिर उनले गरे ।