पु.समाचार

वंशिलाघाटमा निर्माणाधीन झोलुङ्गे पुल अलपत्र

खोटाङ । छिमेकी जिल्ला उदयपुर जोड्ने सुनकोशी नदीस्थित वंशिलाघाटमा निर्माणाधीन झोलुङ्गे पुल अलपत्र परेको छ ।

बराह पोखरी गाउँपालिका–५, पौवासेरा र छिमेकी जिल्ला उदयपुरको चौदण्डी जोड्ने झोलुङ्गे पुल ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र परेको हो । निर्माण कम्पनी जगदम्बा र शंकरमाली जेभीले १५ महिनामा पूरा गर्ने गरी ठेक्का लिएको झोलुङ्गे पुल निर्माणमा ढिलासुस्ती भएपछि स्थानीयवासी सास्ती खेप्न बाध्य छन् ।

रु एक करोड ४३ लाखको लागतमा पूरा गर्ने गरी ठेक्का लिएको २३० मिटर लम्बाई भएको पुलको हाल दुवैतर्फका जग हाल्नेबाहेकका अन्य कुनै पनि काम हुन नसकेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राईले बताए ।

पुल निर्माणका लागि यसअघि निर्माणस्थलमा ल्याइएका सिमेन्ट सडेर डल्लो परेको छ भने, फलामे डण्डी खिया लागेर बसेको जनाइएको छ । जग पनि झाडीले पुरिसकेको स्थानीयवासीले बताएका छन् ।

आगामी तीन महिनाभित्र पुलको काम पूरा गर्ने गरी काम थालिएको ठेक्का पाएका प्रेम राईले बताउनुभयो । पुल नहुँदा जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका–१३ वडाका स्थानीयबासी सदियौँदेखि वंशिलाघाटमा डुंगाबाट सुनकोशी वारपार गर्दै आएका छन् ।

वंशिलाघाटको वारिपारि कच्ची सडक बनिसकेको र मालबाहक सवारीसाधन ओहोरदोहोर गरिरहेको भएपनि पुल नबन्दा स्थानीयवासीलाई दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या परेको छ । वंशिलाघाट तराई आउजाउ तथा दैनिक उपभोग्य वस्तु ढुवानीका लागि जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयवासीको मुख्य नाका हो ।