अन्तर्राष्ट्रिय

काबुलको होटलमा भएको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा आइतबार भएको आक्रमणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले निन्दा गरेका छन्।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघको सहयोग मिसनका प्रमुख तडामिची यमामाटाले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा महासचिव गुथ्रेसले उक्त घटनाको कडा शब्दमा निन्दा रेका छन् ।

आइतबार प्रकाशित एक विज्ञप्तिमा गुथ्रेसले यस आक्रमणमा ज्यान गुमाएका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

गुथ्रेसका प्रवक्ताद्वारा प्रकाशित यस विज्ञप्तिमा आफू अफगान सरकार र जनताको साथमा सधैँ रहेको पनि बताउनुभएको सो समाचारमा जनाइएको छ ।

आइतबार राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलममा भएको आक्रमणमा परी २२ जनाको ज्यान गएको छ ।

यसरी ज्यान जानेमा १४ जना विदेशीसहित अन्य अफगान नागरिक परेका छन् । उनीहरु सबैको सनाखत हुन बाँकी रहेको बताइएको छ ।

आतङ्ककारीहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीले जवाफी आक्रमण गरेका गृह मन्त्रालयका प्रवक्ता नाजीब डेनिसले स्थानीय सञ्चारमाध्यमसँग बताएका थिए।

यस आक्रमणको जिम्मा तालिबान आतङ्ककारी समूहले लिएको छ । पाँच आतङ्ककारी होटेलभित्र प्रवेशगरी अफगान र विदेशी अधिकारी लक्षित आक्रमण गरेको बताइएको छ ।

अफगान सुरक्षाबलको १२ घण्टाको संघर्षपछि मात्र स्थिति नियन्त्रणमा आएको थियो ।

अफगान गृह मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार उक्त होटल आक्रमणको घटना अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।