खेलकुद

खुकुरी टि–ट्वान्टी क्रिकेट माघ १० देखि

काठमाडौँ । खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ ।
यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष विनयविक्रम थापाले जानकारी दिए ।

इएनटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न २० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
सहभागी टोलीहरुले सन् २०१५ देखि राष्ट्रिय टोलीमा आबद्व चार खेलाडी राख्न पाउने प्रावधान रहेको आयोजकले जनाएको छ । तर खेलका दौरानमा भने तीन खेलाडी मात्र खेल्न पाउनेछन् ।
प्रतियोगिताका विजेताले रु तीन लाख तथा उपविजेताले रु एक लाख हात पार्नेछन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु २० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट बलर तथा ब्याट्सम्यानले जनही रु दश हजार पाउनेछन् ।