समाचार

कोरियाली बौद्धमार्गीद्वारा विश्व शान्तिको सामूहिक प्रार्थना

कपिलवस्तु । दक्षिण कोरियाबाट आएका ४३० भन्दा बढी बौद्धमार्गीले प्राचीन कपिलवस्तुको बुद्धस्थलमा पुगेर विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरेका छन् ।

उनीहरुले शुक्रबार तिलौराकोट, भमनिया जोडी स्तुप र निग्रोधराम (कुदान)मा पुगी सामूहिक प्रार्थना गरेका हुन् । कोरियाको सियोलबाट लुम्बिनी हुँदै उनीहरु यहाँ आएका हुन् । निग्रोधराममा सामूहिक प्रार्थना सकेर लुम्बिनी फर्कने क्रममा कोरियाको सियोलस्थित एएसटी पोस्टमा रहेको विहारका मुख्य भिक्षु पिउ परुन सनिमले बुद्धको क्रिडास्थल आउन पाउनु सौभाग्यको विषय भएको बताउनुभयो ।

कोरियाबाट हरेक वर्ष बुद्धस्थलको भ्रमण गर्न ठूलो सङ्ख्यामा बौद्धमार्गी नेपाल आउने गर्दछन् । निग्रोधराम कुदानमा बुद्धले बुद्धत्व प्राप्त गरेपछि छोरा राहलुसहित थुप्रै बौद्धमार्गीलाई पहिलोपटक देशना दिएको स्थलका रुपमा परिचित छ ।

साधुसन्तलाई न्यानो कम्बल

कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी श्रीमती सोनमती जयसवालको परिवारले हरेक वर्ष जस्तै यस वर्ष पनि यस क्षेत्रका साधुसन्तलाई कम्बल वितरण गरेको छ ।

स्व श्रीमान् राजाराम जयसवालको पुण्य तिथि पारेर जयसवाल परिवारले ९० वटा कम्बल साधुसन्तलाई कर्णेश्वर मन्दिरमा वितरण गरेको छ । बढ्दो चिसोमा साधुसन्तलाई कम्बल बाँडेपछि पुण्य प्राप्तिसँगै बुबाको आत्माले समेत शान्ति पाउने भन्दै कम्बल वितरण गरिएको स्व राजाराम जयसवालका छोरा विजय जयसवालले बताउनुभयो ।

यस्तो पुनित कार्यमा आफूलाई पनि सहभागी भई पुण्य प्राप्त गर्ने अवसर जुटेको कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिशेषप्रताप शाहले कम्बल वितरण कार्यक्रममा बताउनुभयो । रासस