अन्तर्राष्ट्रिय

संसारका सबभन्दा धनी व्यक्ति को थिए ?

इतिहासका सबभन्दा धनी व्यक्तिको परिचय मनी पत्रिकामा यिनै शब्दका साथ शुरु हुन्छ । मनसा मूसा प्रथम संसारकै सबभन्दा धनी व्यक्ति थिए । उनी तत्कालीन तिम्बुक्तुका राजा थिए । अहिले यो माली भन्ने अफ्रिकी देशमा पर्छ ।

मूसाले मालीमा राज्य चलाउँदा त्यहाँ खनिज पदार्थहरू विशेषगरी सुनको ठूलो भण्डार थियो । त्यतिखेर संसारभरि सुनको चरम माग थियो ।

मूसाको खास नाम मूसा कीटा प्रथम थियो तर सत्तासीन भएपछि उनी मनसा भनिन थालिए जसको अर्थ सम्राट् हुन्छ ।

मूसाको राज्य धेरै ठूलो थियो र त्यसको कुनै अन्त्य नै थिएन ।

अहिलेका मरिटानिया, सेनेगल, गाम्बिया, गिनी, बुर्किना फासो, माली, नाइजर, चाड र नाइजेरियासम्म मूसाको राज्यअन्तर्गत पर्थे । मनसा मूसाले धेरै मस्जिदहरू बनाएका थिए र तीमध्ये धेरै अहिले पनि छन् ।

मनसा मूसाको सम्पत्तिको हिसाबकिताब अहिलेको समयअनुसार गर्नु मुश्किल काम हो । तैपनि अन्दाज गर्दा मूसासँग लगभग चार लाख करोड रुपैयाँबराबरको सम्पत्ति थियो ।

अमेजनका संस्थापक जेफ बेजोस यही हप्ता संसारका सबभन्दा धनी मानिस बने । उनीसँग १०५.१ अर्ब डलर छ । मूसासँग बेजोसको भन्दा कैयौं गुणा बढी सम्पत्ति थियो ।

मुद्रास्फीतिको हिसाब नगर्ने हो भने बेजोससँग इतिहासका जीवित व्यक्तिहरूमध्ये सबभन्दा धेरै पैसा छ । तर मुद्रास्फीतिको हिसाब गर्दा पनि मूसासँग अरू कसैसँग नभएको अथाह सम्पत्ति थियो ।

मूसाको समयको सबभन्दा प्रसिद्ध कथा उनको मक्का यात्रासँग सम्बन्धित छ । सन् १३२४ को कुरा हो । यस यात्रामा मूसाले साढे ६ हजार किलोमिटर यात्रा गरे । मूसालाई हेर्न चाहने मानिसहरू उनको लावालश्कर देखेर तीन छक्क परेका थिए ।

लावालश्करमा ६० हजार मानिस थिए र तिनमा १२ हजार त मूसाका नोकर मात्र थिए । मूसा चढेको घोडाअघि ५०० मानिसको टोली थियो । उनीहरूको हातमा सुनको छडी थियो । मूसाका ५०० सन्देश वाहकहरूले रेशमको उम्दा कपडा लगाएका थिए ।

यसबाहेक यस लश्करमा ८० वटा ऊँट पनि थिए । तिनमा १३६ किलो सुन लादिएको थियो । मूसा अत्यन्तै उदार थिए । उनले इजिप्टको राजधानी कायरोमा पुग्दा गरीबहरूलाई यति धेरै दान दिए कि त्यहाँ सबै कुरा महंगो हुन गयो ।

मूसाको यात्राका कारण उनको सम्पत्तिको कथा युरोपेली मानिसहरूको कानमा पुग्यो । उनीसँग साँच्चिकै यति धेरै सम्पत्ति छ त भनी हेर्नै मात्र पनि मानिसहरू आउन थाले ।

मुसाको सम्पत्ति पुष्टि भएपछि त्यतिखेरका महत्त्वपूर्ण नक्शा क्याटलन एटलसमा माली राज्य र त्यसको सम्राट्को नाम संलग्न गरियो । युरोपेलीहरूले थाहा पाएका सबै ठाउँको वर्णन एटलसमा गरिएको थियो ।

बीबीसीबाट