राजनीति

एमाले माओवादी केन्द्रको गुरु होः अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा एमाले माओवादी केन्द्रका गुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन्।

शनिबार एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको आयोजनामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले सशस्त्र संघर्षमा र संसदीय राजनीति माओवादीले भन्दा पहिला एमालेले सुरु गरेका कारण एमाले गुरु भएको बताए।

‘हामीहरु भन्दा पहिले एमाले (तत्कालीन माले) ले पहिले सशस्त्र संघर्ष सुरु गर्‍यो’, उनले भने, ‘संसदीय राजनीतिमा पनि एमाले अगाडि अगाडि लाग्यो हामी पछाडि लाग्यौँ।’

एमालेसँगको एकता तत्काल नभई हिजोका प्रक्रियाको विकसित रुप भएको बताए। उनले दरवार हत्याकाण्ड पछाडि भारतको सिलगुढी, पटना, दिल्ली र शान्ति सम्झौता अगाडि रोल्पामा दुई पार्टीबीच एकताबारे लिखित–मौखिक सहमति भएको बताए।

हिजो मशाल, सर्वहारावादी श्रमिक संगठन, मसाल आदि बीच एकता गर्दा पनि आफूमाथि विभिन्न आरोप लागेको स्मरण गर्दै प्रचण्डले अहिले पनि एमालेसँगको एकतालाई लिएर आरोप प्रत्यारोप भैरहेको बताए।

नेकपा माओवादी केन्द्रको सांस्कृतिक विभागका दुई नेताहरु विश्वभक्त दुलाल (आहुति) र बलराम तिमिल्सिना एकता प्रक्रियामा असहमति जनाउँदै नयाँ पार्टी गठनको प्रक्रिया अगाडि बढाएका छन् । प्रचण्डले आहुति र तिमिल्सिनाको कदमलाई ‘हतारको कदम’ को संज्ञा दिए।

‘हिजो एकताका लागि सबैभन्दा चर्का कुरा गर्नेहरु आज एकता प्रक्रियाको विरोध गरिरहेका छन्’, उनले भने, ‘यो कहाँबाट भैरहेको छ त्यो सोचनीय विषय रहेको छ।’ एकताले नयाँ र ठूलो बहसको फोरम सिर्जना गर्ने भन्दै आफू एकताको विपक्षमा रहेकासँग पनि छलफलका लागि तयार रहेको बताए।

एमालेसँग माओवादी केन्द्रको एकता प्रक्रिया सुरु मात्र भएको बताएका उनले एमाले र माओवादीबीच मुख्य मुद्दामा भर्खर मात्र प्रवेश भएको बताए। ‘हिजोबाट मात्रै नेकपा एमाले अध्यक्षसँग वैचारिक विषयमा छलफल सुरु भएको छ’, उनले भने, ‘हामीले जनयुद्ध छाड्यौँ, माओवाद छाड्यौँ, जबज स्वीकार गर्‍यो भन्ने कुरा हल्लामात्रै हो।’

अध्यक्ष प्रचण्डले परिवर्तनका मुद्दा, संघीयता–समावेशिताका मुद्दा र जनयुद्धका मुद्दा छाडेर एकता गर्न नसकिने स्पष्ट पारे। ‘हामी भर्खर वैचारिक बहसमा प्रवेश गरेका छौँ’, उनले भने, ‘हाम्रा आधारभूत सिद्धान्तहरु छाडेर एकता सम्भव छैन।’

पेरिश डाँडामा आयोजित सोही कार्यक्रम सकेर प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीसँग पार्टी एकताका बारेमा कुराकानी गर्न ओली निवास बालकोट पुगेका थिए।

नेपालखबरबाट साभार