खेलकुद

रोनाल्डिन्हो : “जसले सबैको मुहारमा मुस्कान छरेँ”

मैदानमा उनी रिसाएको सायदै कसैले देखे। सधै हाँसिरहने। त्यसैले फुटबल मैदानमा उनको अर्के परिचय बनेको थियो, हसमुख खेलाडीको। मैदानमा उनलाई देखेर विपक्षी दर्शकहरू पनि आलादित हुन्थे।

लाग्थ्यो, ९० मिटर लम्बाई र ४५ मिटर चौडाई भएको फुटबल मैदान उनको लागि संसार हो। खुट्टामा बल परेपछि पुतली झैँ चारैतिर नाच्ने उनको कला अद्भूत थियो।

जापान र दक्षिण कोरियाको संयुक्त आयोजनामा सन् २००२ मा भएको विश्व कप फुटबलबाट उनी रातारात चम्किए। ब्राजिलका उनै अदभूत प्रतिभाले यसै साता अन्तर्राष्ट्रिय फुटबलबाट विदा लिए।

सन् २००२ को विश्व कपमा ब्राजिली टोलीमा ‘एक से एक’ प्रतिभाशाली खेलाडी उपस्थित थिए। टोलीमा रोनाल्डो, रिभाल्डो, रोबर्टो कार्लोस जस्ता दिग्गज खेलाडीको उपस्थिती थियो। यसै टोलीमा रोनाल्डिन्हो नामको अर्को प्रतिभा पनि समावेश थियो। उनकै अद्भूत खेलका कारण ब्राजिलले त्यपालिको विश्व कप उपाधि उचालेको थियो।

त्यो विश्व कपमा इंग्ल्यान्डविरुद्ध क्वार्टरफाइनलमा उनले गरेको गोल अहिले पनि धेरै फुटबल खेलाडीको मानसपटलमा ताजै छ। ‘सेन्टर हाफ’ नजिकैबाट उनले हानेको फ्रिकिक इंग्ल्यान्डका धुरन्धर गोलकिपर डेभिड सिमनले भेउ पनि पाउन सकेनन्। अन्तत बलले जाली चुम्यो। सिमनका लागि अहिले पनि त्यो गोल एउटा नमिठो सपना जस्तै लाग्ने गरेको छ। उनी बेला–बेलामा रोनाल्डिन्होको त्यो गोलको चर्चा पनि गर्छन्।

उनको सशंक्त खेलका कारण ब्राजिलले त्यो विश्व कप जितेपछि २२ वर्षीय रोनाल्डिन्होलाई विश्वका महंगा क्लबले आँखा लगाए। विश्व कपअघि उनी हाल नेइमार अनुबन्धित रहेको फ्रेञ्च क्लब पिएसजीमा आवद्ध थिए। तर, उनलाई विश्व कपपछि स्पेनिस माहरथी बार्सिलोनाले ३ करोड युरो खर्चेर क्याम्प नेउ भित्र्याएको थियो।

त्यतिबेला इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि रोनाल्डिन्होलाई लन्डनमा स्वागत गर्न चाहन्थ्यो। तर, उसको त्यो इच्छा कहिले पुरा भएन्।

बार्सिलोनाबाट ‘डेव्यु’ गर्ने क्रममा पनि उनले मध्य भागबाट बल ‘ड्रिबल’ गर्दै आफ्नो एकल प्रयासमा असम्भव झै लाग्ने गोल गरे। सेभियाविरूद्ध यो सान्दार गोलसँगै स्पेनमा उनको लोकप्रियता चुलीमा पुगेको थियो।

सन् २००५ को च्याम्पियन्स लिगमा उनले इंग्लिस क्लब चेल्सीविरूद्ध गरेको गोलको अहिले पनि चर्चा हुन्छ। लन्डनमा भएको खेलमा रोनाल्डिन्होले ३८ मिनेटमा एकल प्रयासद्वारा अर्को आकर्षक गोल गरेका थिए।

रोनाल्डिन्हो हरेक खेलमा फरक–फरक शैलीमा प्रस्तुत हुन्थे। उनको गोलको उत्सव मनाउने कला पनि अविस्मरणीय थियो। उनी जसरी दर्शनीय गोल गर्थे, त्यसरी नै खुसी मनाएर सबै दर्शकलाई असिमित आनन्द दिन्थे।

चेल्सीविरूद्ध गरेको गोललाई उनी जीवनकै अविस्मरणीय मान्छन्। उनले त्यो गोलबारे भनेका पनि छन्, ‘सबै गोल कला भएर मात्र गरिदैन। कुनै गोल यस्तो पनि हुन्छ, जुन अपत्यारिलो लाग्छ।’

विश्व फुटबलमा बार्सिलोना र रियल म्याड्रिड परस्पर विरोधी क्लब मानिन्छन्। दुबै क्लब एकआपसमा भिड्दा समर्थकहरू मैदान भित्र मात्र होइन, बाहिर पनि उत्तिकै हिंस्रक बन्ने गर्छन्। उनीहरू एकअर्काको विरोध गरेर कहिल्यै थाक्दैनन्।
यसै सिजनको सुरुवातमा रियल म्याड्रिडले फिफा क्लब विश्व कपको उपाधि जित्दा बार्सिलोनाका खेलाडीले मैदानमा विपक्षी खेलाडीलाई सम्मान दिन अस्विकार गरेका थिए। यसअघि रियल म्याड्रिडका समर्थक बार्सिलोनाका डिफेन्डर गेरार्ड पिकेमाथि गालीगलौजमा उत्रिएका थिए।

तर, यी दुबै क्लब एकआपसमा भिड्दा रोनाल्डिन्होको हकमा भने यस्तो अप्रिय घटना कहिल्यै भएन्। रियलका समर्थक एक पल्ट घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रोनाल्डिन्होको सम्मानमा उठेका थिए। जुन खेलमा बार्सिलोनाले रियललाई हराएको थियो। यसअघि यस्तो सम्मान रियलका समर्थकले बार्सिलोनाबाट खेलेका अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनालाई मात्र दिएका थिए।

सन् २००३ देखि २००८ सम्म डच मिडफिल्डर फ्रान्क रिजकार्ड बार्सिलोनाको प्रशिक्षक थिए। त्यतिबेला रोनाल्डिन्होलाई उनले खुब प्रयोग गरे। उनले पद छोडेपछि युवा प्रशिक्षक पेप ग्वार्डिओला बार्सिलोनाको नयाँ प्रशिक्षक नियुक्त भए। यसपछि रोनाल्डिन्होको करिअर संकटमा पर्न थालेको फुटबल विश्लेषकहरूको विश्लेषण छ।

लगत्तै रोनाल्डिन्हो स्पेनिस क्लब छोडेर इटालीको एसी मिलानमा आवद्ध भए। जति समय उनी बार्सिलोनामा रहे, उनले आफ्नो प्रभाव छोडे। अहिलेका स्टार खेलाडी लिओनल मेसीलाई उत्कृष्ट खेल्न प्रेरणा दिने गर्थे।

उनले पहिलो अभ्यास सत्रमै मेसीको विषयमा भविष्यवाणी गरेका थिए। उनी भन्थे–‘बार्सिलोनामा मेसीले मेरो स्थान लिन्छन्।’ अझ उनी मेसी आफूभन्दा राम्रो खेलाडी बन्नेमा ढुक्क रहेको बताउँथे। मेसीले बार्सिलोनाका लागि ‘डेव्यु’ गोल गर्दा पास मिलाइदिने खेलाडी नै रोनाल्डिन्हो थिए।

इटालीमा रोनाल्डिन्होको करिअरले उति गति लिन सकेन। फुटबल पण्डितहरू प्रचुर प्रतिभा भएपनि रोनाल्डिन्होले आफूलाई सोही अनुरुप ढाल्न नसकेको आरोप लगाउँछन्। उनीहरूको विश्लेषण छ, उनले खेलभन्दा रमाइलोमा बढी समय खर्चे।

पिएसजीका तत्कालिन प्रशिक्षकले एकपल्ट उनीमाथि गम्भीर आरोप लगाएका थिए। प्रशिक्षणमा ध्यान नदिने, बढी विदा माग्ने आरोप पनि उनीमाथि लाग्ने गरेको थियो। बार्सिलोनामा आवद्ध रहँदा उनी अभ्यास मैदानमा धेरै पल्ट नाइट क्लबकै पहिरन लगाएर पुगेको समाचार पनि प्रकासित भएको थियो।खेल खस्किएपछि रोनाल्डिन्हो ब्राजिलको सन् २०१० विश्व कप टोलीमा अटाउन असफल रहे। अर्को वर्ष उनले इटाली छोडे। विस्तारै उनी विश्व फुटबलबाट ओझल हुँदैगए। उनले सन् २०१५ सम्म घरेलु फुटबल खेले। तर पछिल्लो दुई वर्ष उनी फुटबल मैदानबाट पनि बाहिर रहे। उनी दुई वर्षअघि भारतमा फाइभ ए साइड फुटबल खेल्न पनि आएका थिए।

१९ वर्षको चहकिलो फुटबलर करिअरको विदाई उनले सुखद ढंगले गर्न पाएनन्। फुटबल खेलेर उनले कति कमाए र कति गुमाए यो विश्लेषणको विषय होला। तर, उनी एक्काइसौं सताब्दीको उत्कृष्ट फुटबल खेलाडीको सूची भित्र अटाउने कुरामा सायदै कसैको दुईमत होला। आफ्नो जादूयी ‘फुटवर्क’ मार्फत विपक्षीलाई फनफनी नचाउने उनको अद्भूत कला सबैले ‘मिस’ गर्नेछन्।

अलबिदा रोनाल्डिन्हो!

रोनाल्डिन्होको खेल जीवन

सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा रोनाल्डिन्होको भूमिका महत्वपूर्ण थियो। उनले बार्सिलोनाबाट युरोपियन च्याम्पियन्स लिग र ला लिगाको उपाधि पनि उचाले। सन् २००५ मा ‘बालोन डि ओर’ जितेका उनी २१ शतब्दीका उत्कृष्ट फुटबलर मध्ये पर्छन्।

जुन १९९९ – होम टाउन हिरो

रोनाल्डिन्होले सन् १९९९ मा १८ वर्षको उमेरमा ब्राजिलियन क्लब ग्रेमियोबाट खेल जीवन सुरु गरे। ग्रेमियोमा प्रभावशाली प्रदर्शनपछि राष्ट्रिय टिममा मौका पाएका उनले सन् २००१ को कन्फेडेरेसन कपमा ६ गोल गरेका थिए।

जुन २००२ – इंग्ल्यान्डविरूद्ध गोल

सन् २००२ को विश्वकप फुटबलमा ब्राजिलयन टिमले उत्कृष्ट प्रदर्शन गर्दा रोनाल्डिन्होको महत्वपूर्ण भूमिका थियो। उनले क्वार्टरफाइनलमा इंग्ल्यान्डविरूद्ध विश्वस्तरीय गोल गरेका थिए। उनको प्रहारले बीचमा दिशा परिवर्तन गर्दै गोलपोस्टको जाली चुमेको थियो।

सेम्टेम्बर २००३ – बार्सिलोनामा प्रभाव

सन् २००२ को विश्व कपको ट्रफी उचाले पछि व्यावसायिक खेल खेल्न रोनाल्डिन्हो पेरिस सेन्ट जर्मेन (पिएसजी) फर्केका थिए। तर प्रशिक्षक लुइस फर्नान्डेजसँग उनको असमझदारी बढ्यो। त्यसपछि उनलाई बार्सिलोनाले भित्र्याउने प्रक्रिया थाल्यो।

मार्च २००५ – चेल्सीविरूद्धको त्यो गोल

सन् २००५ मा च्याम्पियन्स लिगमा बार्सिलोना चेल्सीविरुद्धको खेल हार्न पुग्यो। तर रोनाल्डिन्होको उद्भुत शैलीको अहिले पनि तारिफ हुने गरेको छ।

नोभेम्बर २००५ – विश्वकै उत्कृष्ट खेलाडी

रोनाल्डिन्होले नोभेम्बर २००५ मा फिफा ‘बालोन डि ओर’ को उपाधि जितेका थिए। उनी सम्मानित भएको एक साताअघि सेन्टियागोमा भएको खेलमा रोनाल्हिन्होलाई रियल म्याड्रिडका सामर्थकले उठेर सम्मान दिएका थिए। बार्सिलोनाले २००५–०६ को च्याम्पियन्स लिगको उपाधि जित्दा उनको प्रेरणादायी प्रदर्शन थियो।

जुन २००६ – विश्व कपमा निरस प्रदर्शन

सन् २००६ को विश्वकप फुटबलमा रोनाल्डिन्हो, काका, एड्रियानो र रोनाल्डो रहेको ब्राजिलले राम्रो खेल्ने विश्वास गरिएको थियो। तर ब्राजिल क्वाटरफाइनलमै रोकियो। ब्राजिललाई फ्रान्सले पराजित गरेको थियो।

मे २००८– बार्सिलोनाबाट बाहिर

सन् २००८ मा रोनाल्डिन्हो चोटग्रस्त मात्र बनेनन्, उनीमाथि अनुशाषन तोडेको आरोप लाग्यो। मे २००८ मा उनी बार्सिलोना छाडेर इटालियन क्लब एसी मिलानमा आवद्ध भए।

जनावरी २०११ – फर्किए ब्राजिल

साढे दुई वर्ष मिलानबाट खेलेपछि उनी सन् २०११ मा ब्राजिल फर्के। उनी सन् २०१० को विश्व कप टोलीमा अटाउन सकेनन्।

एजेन्सीको सहयोगबाट