राजनीति

एमालेका प्रभावशाली नेता जिल्लाबाटै ओझेलमा, राष्ट्रियसभा सदस्यबाट यी नेताको नाम आउट !

काठमाण्डौ । राष्ट्रियसभा सदस्यका आकांक्षी नेकपा एमालेका केही प्रभावशाली नेताहरु जिल्लाबाटै सिफारिसमा परेका छैनन् । ३ नम्बर प्रदेश कमिटीले भने जिल्लाबाट सिफारिस नभए पनि प्रभावशाली नेताहरुको नाम थपेर केन्द्रमा सिफारिस गरेको छ ।

एमाले अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरालगायतका नेताहरुलाई जिल्ला कमिटिले सिफारिस नगरेको हो । ०६४ सालको चुनावमा पार्टी पराजय भएपछि तत्कालिन महासचिव माधन कुमार नेपालले राजिनामा दिएपछि बोहोराले कार्यबाहक महासचिवको भूमिकासमेत निर्वाह गरेका थिए ।

राष्ट्रियसभा सदस्यका प्रबल दाबेदार मानिएका एमाले नेताहरु प्रदीप नेपाल, रघुजी पन्त, बेदुराम भुसाल, गंगालाल तुलाधर, महेन्द्रबहादुर पाण्डे, गोपाल शाक्य लगायतका नेताहरु पनि जिल्लाबाट सिफारिस भएनन् ।

भुसालबाहेक सबै नेता मन्त्री भइसकेका र पार्टीमा कुनै बेला प्रभावशाली भूमिकामा रहेका हुन् ।

नेपाल र तुलाधार पूर्व शिक्षामन्त्री हुन् भने पन्त माधव नेपाल प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहाकार थिए । उनी श्रम तथा यातायात मन्त्री पनि भइसकेका छन् । त्यसैगरी पाण्डे परराष्ट्रमन्त्री थिए ।

उता प्रदेश नम्बर ४ बाट पनि वाचस्पति देवकोटा लगायतका नेता सिफारिसमा परेनन् । प्रदेश नम्बर ७ बाट राष्ट्रियसभाका आकांक्षी पार्टी नेताहरु भानुभक्त जोशी, गोविन्द कलौनीहरुको नाम पनि कटाइएको छ ।