पु.समाचार

अपराधीलाई धुलो चटाउने भन्दै प्रदेश नम्बर ७ का प्रहरी अतिरिक्त महानिरीक्षक भन्छन्ः यसो गरे मात्र अपराध समाप्त हुन्छ

बाजुरा । प्रदेश नं ७ का प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले अपराधका क्रियाकलाप गर्नेलाई कानूनी दायरामा ल्याउने बताएका छन् ।

त्रिवेणी नगरपालिका–९ पैमामा निर्माण भएको बडीमालिका प्रहरी चौकीको उद्घाटन गर्दै नेपालले शान्तिपूर्ण वातावरणमा रहेको समाजलाई बिगार्ने र विभिन्न अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने बताए ।

अहिलेको प्रदेश मुकामको विषयलाई लिएर बन्द हडतालन गर्नु उपयुक्त नभएको उनको भनाइ थियो । “आन्दोलन गर्नु नै अपराध बढाउनु हो,” उनले भने । नेपालले जिल्लाको सुरक्षाका लागि जिम्मेवारीपूर्वक कार्य गर्न निर्देशन दिए । अपराध गर्ने जोसुकैलाई पनि नछोड्न उनले निर्देशन दिएका छन् । उनले अपराधीलाई राजनीतिक आवरणमा छोड्न नहुने भन्दै उनले अपराध नियन्त्रण गर्न आफू जस्तोसूकै कद चाल्न तयार रहेको जनाए ।

प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार शान्ति तथा पुनःनिर्माण मन्त्रालयको शान्तिकोष तथा प्रहरी क्षेत्रीय भवन कार्यालयको रु ५० लाख २१ हजार लागतमा सो भवन ठेक्का प्रक्रियाबाट निर्माण गरिएको हो ।

जग्गादातालाई सम्मान

बडीमालिका प्रहरी चौकी निर्माणका लागि निःशुल्क जग्गा सहयोग गर्ने जग्गादातालाई जिप्रका बाजुराले सम्मान गरेको छ । त्रिवेणी नगरपालिका–९ का १० जना जग्गादातालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा त्रिवेणी नगरपालिका–९ का राजेन्द्र खत्री, मन्धिरे खत्री, डम्बर खत्री, बिर्ख खत्री, अमरसिं खत्री, नन्द खत्री, रामबहादुर थापा, दल थापा, धनराज खत्री र चेतराज पाध्याय रहेका छन् । उनीहरुले प्रहरी चौकीका लागि करिब पाँच रोपनी जग्गा निःशुल्क दान गरेका हुन् ।

यस्तै, भवन निर्माणमा सहयोग गर्ने बडीमालिका मन्दिरका पुजारी नेत्रप्रसाद पाध्याय, पार्वती माविका प्राचार्य कर्ण थापा, साइमल दमाईं र कल्धरी साउदलाई प्रहरी अतिरिक्त महानिरीक्षक नेपालले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । यसैगरी, एसइई परीक्षामा उत्कृष्ट अंंक ल्याउने सुस्मिता थापालाई पुरस्कृत गरिएको थियो ।