राजनीति

काँग्रेस केन्द्रीय समिति बैठकमा देउवाको चर्को आलोचना, सात भाईको युवा समूहले यसरी घेर्यो बालुवाटार !

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको केन्द्रीय समिति बैठकमा नै चर्को आलोचना भएको छ ।

बिहीबार प्रधानमन्त्री निवासमा सुरु भएको बैठकमा नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधर नेताहरुले चर्को आलोचना गरेका हुन् ।
नेता पौडेलले सभापति देउवालाई जतिपटक प्रधानमन्त्री भए पार्टीलाई त्यति घाटा भएको भन्दै चर्को आलोचना गरेका थिए ।

हिजोको बैठकमा नेतृत्वको कार्यशैलीप्रति नेताहरुले तीव्र असन्तुष्टि जनाएका थिए । नेतृत्वको आलोचना गर्नेमा वरिष्ठ नेता पौडेल पक्षीय केन्द्रीय सदस्य, कोइराला परिवारदेखि ‘सात भाई’ समुहका युवा नेताहरु रहेका छन् ।

कोइराला परिवारसँग निकट मानिने पूर्व सिँचाई मन्त्रीसमेत रहेका काँग्रेस केन्द्रीय सदस्य दिपक गिरीले नेतृत्व मनोमानी ढंगबाट चलेको आरोप लगाउँदै केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरे । उनी प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ नतोकिएपछि पार्टी सभापति एव् प्रधानमन्त्री शेरबहादुर देउवाप्रति असन्तुष्ट छन् ।

बैठकमा केही नेताहरुले नेता रामचन्द्र पौडेललाई पार्टीभित्र देखिएको असन्तुष्टिका विषयमा कुरा उठाउन आग्रह गरेका थिए ।

नेता पौडेलले ‘यसरी पार्टी चल्दैन’ भन्दै देउवा पक्षका नेताहरुसँग अनौपचारिक रुपमा आफ्नो आक्रोश पोखेका थिए । सोही क्रममा नेता अर्जुननरसिंह केसीले पौडेललाई भने, ‘तपाईँ अगाडि बढ्नुस्, पछाडि हामी छदैछौं भनेकै छौँ त ।’

‘नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण नेपाली काँग्रेसकै नेतृत्वमा पूरा भएको छ । संविधान निर्माणपछि अन्ततः तराई मधेसमा उत्पन्न समस्यालाई समाधान गरी निर्वाचनको प्रक्रियामा सबै पक्षलाई सहभागी गराउन सक्नु कांग्रेसको नेतृत्वका सरकार र सिंगो काँग्रेस पार्टीको सफलता हो भन्ने मेरो ठहर छ । लामो संक्रमणकाल अन्त्य गर्न प्राप्त सफलताका लागि म प्रधानमन्त्री एवं पार्टी सभापतिको हैसियतले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र साथीहरुमा बधाई ज्ञापन गर्न चाहन्छु ।

सम्पन्न निर्माणको परिणाम हाम्रो पार्टी अनुकूल आउन सकेन । पराजयको पछिल्तिर हाम्रा अन्य जे–जे कारण होलान् ती सबैका सन्दर्भमा समय लिएर व्यापक रुपले गम्भीर समीक्षा र छलफल एवंम् अन्तरक्रिया गर्न जरुरी छ ।

सभापतिका नाताले सम्पूर्ण साथीहलाई म खुला ढंगले समीक्षामा सहभागी हुन आग्रह गर्दछु । निकट भविष्यमा पार्टीको महासमितिको बैठक बस्नेछ । राज्यको पुनर्संरचना अनुसार पार्टीको विधानमा संशोधनका साथै नयाँ रक्तसञ्चार हुने गरी पार्टीको आगामी रणनीति तय गर्न उक्त महासमितिले निर्देशन गर्नेछ । मुलुकको संविधान अनुरुपको पार्टी संरचनामा अत्यावश्यक हेरफेर गर्न पार्टीको विधान संशोधन हामीले गर्न जरुरी छ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १० गते उम्मेदवार चयन र चुनावको तयारीमा केन्द्रित हुनुपर्नेछ ।

अतः साथीहरुबाट यसमा केन्द्रित रहेर राय सुझाव अनुरुप हामी अघि बढ्नेछौं । तत्काल केही दिन मै केन्द्रीय समिति र कार्यसमितिको फेरि अर्को बैठक बोलाई पुनः छलफल र लामो बहस गरिने छ’, देउवाले बैठकको सुरुमा भनेका थिए ।

बैठक आज पनि बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । मुलतः चुनाव हारेका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आक्रोशित रुपमा प्रस्तुत भएका थिए । अधिकांश काँग्रेस नेताहरुले आफूहरुले चुनाव हार्नुका पछाडि सभापति देउवालाई नै आरोप थुपार्दै आएका छन् । यता प्रधानमन्त्रीसमेत रहेका देउवाले आफ्ना कारणले चुनाव हार्ने अनि आफूलाई दोष थोपर्न नहुने बताउँदै आएका छन् ।