खेलकुद

मोरङ फुटबल संघको अध्यक्षमा पुनः धिमाल

मोरङ । मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पुनः दीपेन्द्र धिमाल निर्वाचित हुनभएको छ।

बिहीबार लेटाङ नगरपालिकामा सम्पन्न निर्वाचनमा धिमालले प्रतिद्वन्द्वी किरण गिरीलाई दुई मत अन्तरले पराजित गर्दै लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित भएको हो ।

धिमालले आठ मत ल्याउनुभयो भने गिरीले छ मत प्राप्त गरेको थियो । यो विजयसँगै धिमाल जिल्ला फुटबल संघमा ह्याट्रिक गरेको छ । उनी २०६४ सालदेखि जिल्ला फुटबल संघको अध्यक्षकाे पदमा रहेका छन् । फुटबल संघको उपाध्यक्षमा दीपेन्द्र तिवारी, माधवराज भण्डारी र धनकुमार लामा निर्वाचित भएको छ ।

महिला सदस्यमा कौशिला लिम्बू र सदस्यमा उद्धवकुमार भुजेल, ओमप्रकाश मास्के, इन्द्रमणि पोखरेल, प्रेम तामाङ, खड्गबहादुर श्रेष्ठ, नगेन्द्र घिसिङ, माधवप्रसाद लिम्बू र तेजराज गिरी निर्वाचित भएको छ ।

मोरङ जिल्लामा रहेका ए डिभिजनका १४ वटा फुटबल क्लबका १४ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गरेका हुन् । १४ वटा क्लबमध्ये सात वटा विराटनगर महानगरपालिकाभित्र र सातवटा महानगरपालिका बाहिरका रहेका थिए ।

विसं २०५२ मा स्थापित संघको नेतृत्व यसअघि सन्तोष बानियाँ, प्रदीप भगत र किशोर तिम्सिनाले गर्नुभएको थियो । बानियाँले दुई कार्यकाल नेतृत्व गर्नुभएको थियो भने भगत र तिम्सिनाले एक÷एक कार्यकाल नेतृत्व गरेको थियो । रासस