उर्जा

उर्जामा आत्मनिर्भर हुन ठोस योजना तर्जुमा गर्नुपर्छः नेता रायमाझी

नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीले उर्जामा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले ठोस योजना तर्जुमा गर्नुपर्ने बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरण नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त)को केन्द्रीय भेलाको यहाँ आज उद्घाटन गर्दै उनले भने– “मुलुकको ऊर्जा व्यवस्थापन सरकारको पहिलो प्राथमिकतामा परेन भने प्राधिकरण एक्लैले अहिलेको ऊर्जा संकट हटाउन सकिदैन् ।”

संगठनका केन्द्रीय अध्यक्ष खगेन्द्र शाहीको सभापतित्वमा सम्पन्न भेलामा प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज र संगठनका नेताहरु देवकुमार श्रेष्ठ, सुरेन्द्रबहादुर पाण्डे, शंकरनारायण बाराकोटीलगायतका वक्ताले प्राधिकरणको संरचना समयसापेक्ष सुधार गर्दै जानुपर्नेमा जोड दिए ।

भेलामा जलस्रोत तथा ऊर्जा नीति, ट्रेड युनियन र समाजवाद, संघीय संरचनामा प्राधिकरण तथा नेपालको ऊर्जाको वर्तमान अवस्था र भावी सम्भावनाका विषयमा प्रशिक्षण दिनुका साथै संगठनको नयाँ नीति तथा कार्यक्रम, संघीय संरचनाअनुरुप प्राधिकरणको विस्तार र केन्द्रीय समिति सदस्यमा मनोनयनका विषयमा छलफल हुने संगठनका महासचिव माधव अधिकारीले जानकारी दिए ।

भोलिसम्म चल्ने भेलामा संगठनसँग आबद्ध मुलुकभरिका ४३० जना प्रतिनिधिको सहभागिता छ ।