पु.समाचार

दीपायलमा प्रधानमन्त्रीको पुत्ला जलाइयो, एमाले–माओवादी पनि निशानामा !

काठमाण्डौ । प्रदेश नम्बर ७ को राजधानी धनगढी राखेको विरोधमा दीपायलमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ ।

बिहीबार बिहानैबाट आन्दोलनमा उत्रिएका प्रर्दशनकारीहरुले देउवाविरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् । प्रदर्शनकारीहरुले सेती पुलनजिकै परालको शव बनाई शवयात्रासमेत गरेका थिए ।

७ नम्बर प्रदेशको राजधानी धनगढीको कैलाली राखेको विरोधमा देउवालगायत एमाले नेता भीम रावल, माअ‍ोवादी केन्द्रका नेता लेखराज भट्टविरुद्ध नाराबाजी गरेका थिए । दीपायललाई प्रदेश राजधानी बनाउन असहयोग गरेको भन्दै आन्दोलनकारीहरुले एमाले माओवादीविरुद्ध पनि चर्को नाराबाजी गरेका थिए ।

आन्दोलनकारीहरुले डोटीमा पनि यातायत अवरुद्द पार्ने चेतावनी दिएका छन् । आन्दोलन संयोजन समितिको बिहीबार बसेको बैठकले सरकारले दीपायलमा मात्र आन्दोलन गर्दा नसुनेको भन्दै थप आन्दोलन चर्काउन डोटीको बुडरमा पनि यातायात ठप्प पार्ने चेतावनी दिए ।

बुडरमा भिमदत्तनगर राजमार्गअवरुद्ध गरेपछि डोटी, अछाम, डडेल्धुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुलासम्म यातायात सञ्चालन गर्न कठिनाई पर्छ । सरकारलाई आफ्ना माग सुनाउन अब पूरै पहाडी जिल्ला ठप्प पार्ने आन्दोलनकारीहरुले चेतावनी दिएका छन् ।

प्रदेश नम्बर १ मा पनि प्रदेश राजधानीको विषयले उग्र रुप लिँदै गएको छ । विगत ३४ दिनदेखि आन्दोलनमा रहेका धनकुटावासीले आफ्नै जिल्लालाई प्रदेश नम्बर एकको राजधानी बनाउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका छन् । सरकारले विराटनगरलाई प्रदेशको अस्थायी राजधानी तोकेपछि उनीहरु थप आक्रोशित बनेका हुन् । आन्दोलनमा उग्र रुप लिएपछि स्थानीय प्रशासनले अफ्यु आदेश जारी गरेको छ । धनकुटामा झडपमा परी केही आन्दोलनकारीसमेत घाइते भएका छन् ।