राजनीति

राजधानीको विषयलाई लिएर आन्दोलन नगर्नुस्, देउवा सरकारका सबै निर्णय उल्टिन्छनः अध्यक्ष ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो स्वार्थअनुकुल प्रदेश राजधानी तोकेको आरोप लगाएका छन् ।

नियमित स्वास्थ्य परिक्षणपछि बिहीबार स्वदेश फर्केका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारले ढिला गरी प्रदेश प्रमुख तोकेर पनि आफ्नो स्वार्थमा चलेको बताएका हुन् ।

‘ढीला गरी भए पनि प्रदेश प्रमुख र अस्थायी राजधानी तोकियो तर, देशको भन्दा आफ्नो स्वार्थलाई बढी ध्यान दिइयो’, उनले भने ।

साथै ओलीले सरकारलाई आफूहरुले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने अधिकार दिएको तर, व्यक्तिगत स्वार्थ अनूकूल निर्णय गरेकाले मान्य नहुने बताएका छन् । उनले भने, ‘सरकारलाई प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नु भन्ने सहमति हो । तर, गरेको निर्णयमा सहमति छैन ।’

ओलीले देउवा सरकारले गरेका निर्णय नयाँ बन्ने सरकारले सबै उल्ट्याउने बताएका छन् ।

साथै उनले प्रदेश राजधानीको विषयलाई लिएर आन्दोलनमा नउत्रिन समेत सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् ।

‘ढिलै भए पनि सरकारले आफ्नो काम गरेको छ, प्रदेश प्रमुखबारे धेरै कुरा थाहा पाएका छैनौं, नयाँ सरकारले आवश्यकता र अनुकूलता हेरेर निर्णय लिन्छ’, ओलीले भने, ‘अहिले प्रदेश राजधानीका विषयमा अल्झिने समय छैन, प्रदेश सभाले परिवर्तन गर्न सकने यी विषयमा अहिले नै आन्दोलन गर्नुपर्दैन ।’

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सात वटै प्रदेशका प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेको थियो । निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनाव प्रभावित हुने भएकाले तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न दबाब दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा तनावमा परेका थिए ।