पु.समाचार

प्रदेश राजधानीको माग गर्दै धनकुटा तनावग्रस्त, अनिश्चितकालिन कफ्यु जारी

धनकुटा । धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउनुपर्ने मागसहित भएको आन्दोलनले उग्र रुप लिएपछि कफ्यु जारी गरिएको छ ।

३४ दिनदेखि भएको आन्दोलनले बिहबिार उग्र रुप लिएपछि कफ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । आन्दोलनकारीहरुले जिल्ला प्रशासन कार्यालयमा आगजनी गरेपछि स्थितिलाई नियन्त्रणमा लिन उक्त कदम चालिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सरकारले विराटनगरलाई प्रदेश नम्बर एक को अस्थायी राजधानी राखेपछि धनकुटावासी थप आक्रोशित बनेका हुन् ।

कफ्यु पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेबास र दक्षिणमा पात्ले खोलासम्म कफ्यु लगाइएको छ । अहिले आन्दोलनकारी र प्रहरीबीच ढुंगा हानाहान भइरहेको छ ।

यस्तै धनगढीलाई प्रदेश नम्बर सातको राजधानी तोकेको भन्दै दीपायलमा पनि प्रदर्शन गरिएको छ । दीपायललाई प्रदेशको राजधानी राख्नुपर्ने माग गर्दै सिलगुढी क्षेत्रमा आन्दोलन चर्कीरहेको छ । आन्दोलनकारीहरुले सडकमा टायर बालेर विरोध जनाइरहेका छन् ।