पु.समाचार

धनकुटामा प्रहरी र आन्दोलनकारीबीच झडप, तीन जना घाइते

धनकुटा । प्रदेश नं १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच झडप भएको छ । झडपमा ३ जना घाइते भएका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ । झडपमा ३ जना घाइते भएका छन् ।

यसअघि आन्दोलनकारीले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले आन्दोलनकारीले सरकारी कार्यालय तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको बताए । उनको अनुसार अहिले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरलाई बनाएपछि त्यहाँको आन्दोलन थप चर्किएको हो । त्यहाँ प्रदेश राजधानकिो माग राख्दै ३४ दिनदेखि विरोध र हड्ताल भइरहेको छ । सरकारले धनकुटालाई राजधानी नबनाएसम्म आन्दोलन चर्काउने आन्दोलनकारीहरुले चेतावनी दिएका छन् ।