खेलकुद

हक्कीमा सेमिफाइनल समीकरण पूरा

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत १७ औं पुरुष तथा दोश्रो महिला राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा सेमिफाइनल समीकरण बुधबार पूरा भएको छ ।

सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता पश्चिमाञ्चलले समूह ‘ए’ विजेता डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीसंग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ उपविजेता पूर्वाञ्चलल र समूह ‘बी’ को विजेता सुदूरपश्चिमाञ्चलबीच हुनेछ ।

पुरुषतर्फ लिगको अन्तिम दिन पश्चिमाञ्चल र पूर्वाञ्चलले जित हात पार्दै आ–आफ्नो समूहको उपविजेता बन्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

पश्चिमाञ्चलले मध्यमाञ्चललाई २–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि रोशन राना र राजन नेपालले गोल गरे । मध्यमाञ्चलका अंकित पाठकले १ गोल फर्काए । पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई ३–१ गोलले हरायो । पूर्वाञ्चलको जितमा अशोक पौडेलले २ तथा सकिल शेखले १ गोल योगदान गरे । मध्यपश्चिमाञ्चलका सन्तोष बेसाले सान्त्वना गोल गरे ।

हेटौंडामा जारी प्रतियोगिताको महिला राउन्ड रोविन लिगमा डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिमाञ्चलले जितको खाता खोलेको छ । लगातार दुई खेलमा पराजित सुदूरपश्चिमाञ्चलले आफ्नो तेश्रो खेलमा पूर्वाञ्चलमाथि ३–० को जित रच्यो । विमला भट्टले २ तथा विन्दु रावलले १ गोल गरे ।

यसअघि सुदूरपश्चिमाञ्चल आर्मी र पश्चिमाञ्चलसंग चुकेको थियो । महिलाकै अर्को खेलमा पश्चिमाञ्चल र मध्यमाञ्चलले गोलरहित बराबरी खेले ।