आर्थिक

कर्णालीमा खाद्य संकट हुन नदिने जनप्रतिनिधिद्वारा प्रतिबद्धता

काठमाण्डौ । कर्णालीका विभिन्न जिल्लाबाट नवनिर्वाचित जनप्रतिनिधिले त्यस क्षेत्रमा कृषि र पर्यटन उद्योगको विकासका लागि प्रतिबद्धता जनाएका छन् ।

कर्णाली समाज र खाद्यका लागि कृषि अभियानले जनप्रतिनिधिलाई बधाई तथा सम्मान गर्न आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरुले कर्णाली स्रोत र साधनका दृष्टिकोणबाट सम्पन्न भएको भए पनि त्यहाँको विकासमा सरकारले उचित सरोकार राख्न नसकेकामा चिन्ता व्यक्त गरे ।

कालीकोटबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दुर्गाबहादुर रावतले कर्णाली क्षेत्रमा उच्च भाग, मध्य भाग र बेँसी गरी तीन तह रहेको हुँदा स्थानीय उत्पादनमा पनि सुक्ष्म जैविक विविधता पाइने बताउँदै देशको कृषि योजनाले त्यहाँको सम्पूर्ण क्षेत्रलाई फरक कृषि क्षेत्रका रुपमा विकास गर्न नसकेको उल्लेख गरे ।

कालीकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा गरी पाँच जिल्ला कर्णालीमा पर्दछ, त्यहाँका प्रदेशसभा सदस्य महेन्द्रबहादुर शाही, बल रावल, पदमबहादुर रोकाय, कुर्मरा शाहीनन्दसिंह बुढा र मानसिंह नेपालीले कर्णालीमा उन्नत खाद्य उत्पादन गर्नुपर्नेमा जोड दिँदै वस्तुभाउ, वन र जडीबुटीको एकीकृत व्यवस्थापन गर्नुपर्ने बताए ।

उनीहरुले विगतमा जनप्रतिनिधिको अभावमा त्यहाँ हुँदै आएको खाद्य संकट यसपटक हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।