राजनीति

प्रदेश प्रमुख नबन्दै अनुराधा कोइराला विवादमा, नागरिकता बन्यो टेन्सनको विषय !

काठमाण्डौ । प्रदेश प्रमुखको नियुक्त हुने चर्चा चलेसँगै माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला विवादमा तानिएकी छन् ।

नेपाली काँग्रेसबाट प्रदेश नम्बर ३ बाट प्रदेश प्रमुखको चर्चामा रहेकी कोइराला महिला नेतृबाटै विवादमा तानिएकी हुन् । फोरम नेतृ गिरीले कोइराला नेपाली नागरिक हुन् कि होइनन् भन्ने विषय उठान गरेसँग उनी विवादमा तानिएकी हुन् ।

पूर्वमन्त्रीसमेत रहेकी गिरीले कोइरालाविरुद्ध आफूले केही नभन्ने तर यसविषयलाईं राज्यसँग संवाद जरुर गर्ने बताएकी छन् ।

कोइरालाको नाम प्रदेश प्रमुखमा आएपछि कोइरालाले सामाजिक संजालमा गिरीले लेखेकी छन्, ‘अनुराधा जी को नाम प्रदेश प्रमुखमा आई रहेको छ । उनको विरुद्धमा मैले भन्नु पर्ने केही छैन । वहाँ अन्तराष्ट्रिय ख्याति प्राप्त महिला हुनु हुन्छ । धेरै महिलाको उद्धार गर्नु भएको छ । तर मैले राज्य संग संवाद गर्नु पर्दछ । मैले जाने अनुसार वहाँ दार्जिलिंग को हुनु हुन्छ र विवाह पछि नेपाली नागरिक हुनु भएको छ । म गलती पनि हुन सक्छु । तर यदि यो सत्य हो भने नागरिकता कानूनको सम्बन्धमा राज्यको द्वैध नीति पुनः प्रमाणित भएको छ ।’

के छ संवैधानिक व्यवस्था ?

संविधानको धारा २८९ मा विभिन्न १० वटा पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन बंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्छ भन्ने प्रष्ट व्यवस्था छ, त्यसमा प्रदेश प्रमुख पनि छ ।

संविधानअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र सुरक्षा निकायका प्रमुखहरुमा अंगीकृत नागरिकहरु नियुक्त हुन सक्दैनन् ।

कहाँ भएको हो त उनको जन्म ?

  

अनुराधा कोइरालाको जन्म नेपाली विकिपिडियाअनुसार सन् १९४९ अप्रिल १४ मा ओखलढुंगाको रुक्जाटारमा भएको जनाइएको छ ।
अनुराधाको विवाह नेपाली नागरिक दिनेशप्रसाद कोइरालासँग भएको थियो ।

माइती नेपालमार्फत् सन् २०१० मा कोइरालाले ‘ग्लोबल सीएनएन हिरो’ को अवार्ड पाइरहँदा भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले भारतीय पूर्व आर्मी सफिसर्सकी छोरीले अवार्ड पाएको समाचार लेखेको थियो ।

सो भारतीय पत्रिकाका अनुसार अनुराधा भारतीय सेनाका कर्णेल प्रतापसिंह गुरुङकी छोरी हुन् र उनी भारतको सेन्ट जोसेफ स्कुल, कालेङपोङकी पूर्वछात्रा हुन् ।

यद्यपि नेपालस्थित भारतीय दूताबासका अनुसार सन् २०१७ को पदमश्री पुरस्कार पाउने अनुराधा कोइराला एकमात्र विदेशी हुन् ।

यतिधेरै विवाद देखीए पनि उनको नागरिकता अन्ततः नेपाली भएको खुलासा भएको छ । उनको नागरिकता २०५० साल पुस ६ गते काठमाण्डौ जिल्ला प्रशासन कार्यालयबाट लिएको खुलासा भएको हो । साथै उनको स्थायी ठेगाना ओखलढुंगाको रुम्जाटार-३ भएको पाइएको छ । अनुराधा अंगिकृत  नागरिक भएको भन्ने हल्ला फैलिएपछि उनको नागरिकताका विषयमा वास्तविकता पत्ता लागेको हो ।

अब उनी नेपालमै जन्मिएको र वंशज नै भएको खुलासा भएको छ ।

भारतीय दूताबासको यस्तो प्रष्टोक्तिले अनुराधा नेपाली नागरिक हुन् भन्नेमा कुनै शंका छैन ।

 सरकारले उनको नाम तीन नम्बर प्रदेश प्रमुखको सूचीमा राखेको छ ।