राजनीति

एमाले–माअ‍ोवादीलाई बाहिर राखेर सरकारले यसरी गर्यो प्रदेश प्रमुखमा भागबन्डा !

काठमाण्डौ । सरकारले नेकपा एमाले र माअ‍ोवादी केन्द्रलाई बाहिरै राखेर प्रदेश प्रमुख तोक्ने भएको छ ।

राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख तोक्ने बताइरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय समाजवादी फोरम राष्ट्रिय जनता पार्टीसँग मिलेर प्रदेश प्रमुख तोक्ने भएको छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले भागबन्डाका आधारमा प्रदेश प्रमुख तोक्दैछ ।

प्रदेश नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रदेश नम्बर ३, ६ र ७ मा सत्तारुढ दल नेपाली काँग्रेसले लिने र प्रदेश नम्बर २ र ५ भने संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई दिने सहमति भएको स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकमा प्रस्तावित नामहरुमा प्रदेश नम्बर १ बाट गोविन्द सुब्बा राप्रपा, प्रदेश नम्बर २ मा उमाकान्त झा राजपा, प्रदेश नम्बर ३ मा अनुराधा कोइराला(काँग्रेस), प्रदेश नम्बर ४ मा बाबुराम कुँवर(काँग्रेस), प्रदेश नम्बर ५ मा रत्नेश्वरलाल कायश्थ (फोरम), प्रदेश नम्बर ६ मा कृष्णकेशरी खनाल (काँग्रेस) र प्रदेश नम्बर ७ मा भने मोहनराज मल्ललाई नियुक्त गर्ने देउवाको तयारी रहेको छ ।

त्यस्तै आजको बैठकले प्रदेश सभाको पहिलो बैठक बस्ने अस्थायी मुकाम पनि तोक्ने छ ।

सरकारले विराटनगर, जनकपुर, ललितपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीलाई अस्थायी मुकाम तोक्ने तयारी गरेको छ ।