राजनीति

आज प्रदेश प्रमुख नियुक्त नभए पदबाट राजीनामा दिन्छुः मन्त्री विश्वकर्मा

काठमाण्डौ । सरकारले प्रदेश प्रमुख तोक्न ढिलाई गरेको राष्ट्रियसभाको निर्वाचन प्रभावित हुने निर्वाचन आयोगले चेतावनी दिइसकेको छ ।

प्रदेश प्रमुख नहुँदा आयोगमा मतपरिणाम बुझाउन नसकेको बताइरहेका बेला सरकारले आजै प्रदेश प्रमुख तोक्ने जनाएको छ ।

मंगलबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अनिश्चित बनेपछि प्रदेश प्रमुख तोक्ने विषयमा अन्यौलमा परेको हो । आजका लागि बोलइएको मन्त्रिपरिषद् बैठकले नै प्रदेश प्रमुख तोक्ने वाणिज्य तथा आपूर्तिमन्त्री मिन विश्वकर्माले जनाकारी दिएका छन् ।

सुर्यखबर प्रतिनिधिसँग कुरा गर्दै मन्त्री विश्वकर्माले सरकारले आजै प्रदेश प्रमुख तोक्ने र नतोकिए आफैं पदबाट राजीनामा दिने बताए ।

‘एमाले र माओवादी केन्द्रसँग थप परामर्श गरेर प्रमुख र शपथ खाने कार्यालय समेत तोक्न भनेपछि हिजो सहितका यसअघि तय भएका केहि मन्त्रीपरिषद बैठकले प्रदेश प्रमुख नियुक्त नगरेको हो । आज अस्थायी मुकाम सहित प्रदेश प्रमुखको नियुक्ती हुन्छ’, मन्त्री विश्वकर्माले भने ।

सरकारले प्रदेश प्रमुख तोक्न ढिलाई गर्दा राष्ट्रिय सभाको निर्वाचन प्रभावित हुने आशंका बढीरहेका बेला उनको उक्त भनाईले समयमा चुनाव हुनेमा थप आशा जगाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति गरेर प्रदेश प्रमुख तोक्ने बताइरहेका भए पनि राजनीतिक सहमति हुन सकेको छैन । यता प्रतिपक्षी दल नेकपा एमालेले भने सरकारलाई प्रदेश प्रमुख तोक्ने अधिकार भएकाले सहमति आवश्यक नरहेको बताउँदै आएको छ ।

निर्वाचन आयोगले पनि माघ २४ गतेको राष्ट्रिय सभाको चुनाव समय गर्नका लागि प्रदेश प्रमुख तोक्नुपर्ने आवश्यकता औल्याएपछि सरकार पनि हतारोमा देखिएको छ । यदी सरकारले समयमा प्रदेश प्रमुख नतोके माघ २४ को राष्ट्रिय सभाको निर्वाचन सर्ने आयोगले चेतावनी दिएको छ । आयोगको उक्त चेतानीपूर्ण अभिव्यक्तिलाई लक्षित गर्दै मन्त्री विश्वकर्माले भने, ‘आजै प्रदेश प्रमुख नियुक्त हुन्छ, नभए म आफैं राजीनामा दिन्छु ।’

निर्वाचन आयोगले समयमा मतपरिणाम सार्वजनिक नगरेको भन्दै नेकपा एमाले रुष्ट बन्दै आएको छ । एमालेले आयोग काँग्रेसको जालमा फसेको र निर्वाचन परिणाम सार्वजनिक नगर्ने खेलमा लागेको आरोप लगाइरहेको छ ।

यता निर्वाचन आयोगले पनि आजै प्रदेश सभाको समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न लागेको छ । सरकारले आज प्रदेश प्रमुख नियुक्त गर्ने संम्भावना रहेकाले आयोगले पनि मतपरिणाम सार्वजनिक गर्न अन्तिम तयारी थालेको छ । समानुपातिक तर्फका सिटबाँडफाँडको सबै प्रक्रिया पूरा भइसकेकाले अन्तिम परिणाम सार्वजनिक हुन लागेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

अन्तिम परिणाम सार्वजनिक भएको सात दिनभित्र प्रदेश प्रमुखसँग शपथ लिनुपर्ने बाध्यताकाबीच आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाई गरेको हो ।  सरकारको निर्णयपछि आयोगले पनि अन्तिम मतपरिणाम सार्वजनिक गर्ने ढकालको भनाई छ ।